नमुना बन्दै हेटौंडा पानी प्रशोधन केन्द्र

चैत्र ८, २०७२- तेह्र वर्षअघि हेटौंडामा सञ्चालनमा आएको प्रदूषित पानी उपचार संयन्त्र (वेस्टवाटर ट्रिटमेन्ट प्लान्ट) नमुना बन्दै गएको छ । शैक्षिक भ्रमण र अनुसन्धानका लागि यहाँ आउनेहरुको संख्या वृद्धि हुँदै गएको छ । ‘विद्यार्थी र अनुसन्धानकर्ताहरु भारतको गोरखपुर, पटनादेखि आउँछन् ।’ संयन्त्रका प्रबन्धक अच्युतानन्द शुक्लाले भने, ‘नेपालका विभिन्न स्थानहरुबाट आउने क्रम पनि बढेको छ ।’  


सन् २००१ मा वातावरण क्षेत्र सहयोग कार्यक्रम अन्तर्गत डेनमार्क सरकारको सहयोगमा प्रदूषित पानी उपचार संयन्त्र (वेस्टवाटर ट्रिटमेन्ट प्लान्ट) को स्थापना भएको हो । हिमाल हाइड्रोले निर्माण गर्ने जिम्मा लिएको यो संयन्त्रको स्थापनाको  ६ वर्षपछि सन् २००३ मा सञ्चालनमा आएको हो । हेटौंडाका बिभिन्न उद्योग धन्दाहरुबाट निस्किएको प्रदूषित पानीलाई एकत्रित गरेर पानी छान्ने प्रविधिद्वारा  प्रशोधन गरिन्छ । यसरी प्रशोधन गरिएको सफा पानी कर्रा खोलामा मिसाइने  गरिएको छ । प्रदूषित पानीलाई स्वच्छ पारेर नदीमा मिसाउने, जलचर प्राणी र भूमिको संरक्षण गर्ने, राष्ट्रिय उद्योगमा टेवा दिने उद्देश्यले संयन्त्रको स्थापना भएको हो । प्रबन्धक शुक्लाका अनुसार पहिले यहाँको पानी परीक्षण गर्न भारतको जवाहरलाल नेहरु विश्वविद्यालय पठाइन्थ्यो । तर अब त्यो समस्या हटेको छ ।

हेटौंडाका विभिन्न ४६ वटा उद्योगबाट निस्किएको प्रदूषित पानी, फोहोरमैलालाई १८ दिनसम्म विभिन्न चरणमा प्रशोधन गरेर सफा बनेपछि बल्ल कर्रा खोलामा मिसाउने गरिएको छ । प्रशोधन केन्द्रले प्रतिदिन ११ सय घनमिटर पानी प्रशोधन गर्ने क्षमता राख्छ । केन्द्रको क्षेत्रफल ७.५ बिघा जमिनमा फैलिएको छ ।

हेटौंडाको औद्योगिक क्षेत्रमा अवस्थित यो प्रशोधन केन्द्र खासगरी पानीसम्बन्धी अध्ययन गर्ने, शोधपत्र लेख्नेहरुका लागि यो राम्रो गन्तव्य बन्दै गएको छ । तुलनात्मक रुपमा विज्ञान, माईक्रो बायोलोजी, बायो टेक्निकल, म्यानेजमेन्ट, वातावरण विज्ञान विषयका विद्यार्थीहरु बढी आउने गरेको पाइएको छ । दिल्ली युनिभर्सिटीबाट वातावरण विज्ञानमा विद्यावारिधि गरेकी काठमाडौंकी साधना प्रधानाङ्गले शोध कार्यका लागि हेटौंडाको वेस्टवाटर ट्रिटमेन्ट प्लान्ट नै छनोट गरिन् । ‘अन्यत्र यस्तो ट्रिटमेन्ट प्लान्ट भए पनि हेटौंडा नै चासो लाग्यो ।’ साधना भन्छिन्, ‘राजधानी बाहिरको प्रयोग हेर्न मन लाग्यो ।’

ekantipur

,

news and entertainment