पर्यटकहरूलार्इ लोभ्याउदै गुराँसको राजधानी टिएमजे

धनकुटा, ९ वैशाख, नयाँ वर्ष भनेपछि प्राय सबैको लागि विशेष नै हुन्छ । विशेष दिनलाई अझ विशेष बनाउन यस वर्षको नयाँ वर्षमा पनि धेरैको गन्तब्य स्थल बन्यो ‘गुराँसको राजधानी’ तीन जुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्र । संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगम स्थलमा पर्ने टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँसहरु देख्न पाईने हुँदा गुराँस फुल्ने बेलामा आन्तरिक पर्यटकहरुको घुईचो लाग्ने गरेको छ । यो क्रम वर्षेनी बृद्धि हुँदै गएको स्थानीयले बताउने गरेका छन् । विशेष गरी यस पटकको नयाँ वर्षमा पनि संखुवासभा, भोजपुर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सुनसरी लगायतका जिल्लाहरुबाट आएका पर्यटकहरुले भरिभराउ थियो टिएमजे क्षेत्र ।


विदेशी पर्यटक छिटफुट मात्र जाने त्यस क्षेत्रमा आन्तरिक पर्यटक नै बढि पुग्ने गरेका छन् । सुनसरीबाट मात्रै आफू सहित करिब दुई सय जना टिएमजे क्षेत्र घुम्न गएको पत्रकार भैरब आङ्लाले बताए । ‘धरानको मात्र दश ग्रुप थिए, सुनसरीकै अरु ठाउँबाट पनि उत्तिकै संख्यामा घुम्न आए', पत्रकार आङ्लाले भने । गुराँस फुलेको बेला पहिलो पटक सो क्षेत्र पुग्नेहरुको लागि स्वर्गको टुक्रा जस्तै लाग्ने पर्यटकहरुले बताउने गरेका छन् ।

धनकुटाबाट घुम्न पुग्नुभएको युवराज थापाले आफू टिएमजे क्षेत्रमा पुग्दा स्वर्ग जस्तै लागेको बताए । ‘गुराँसको राजधानी भन्ने सुनेर हेर्न आएको, साच्चै राजधानीनै रहेछ’ थापाले भने । टिएम्जे क्षेत्रमा पाथिभरा देवीको दर्शन गर्न पाउने भएकोले पनि मानिसको घुईचो लाग्ने गरेको हो । चौकी बजार, मंगलबारे बजार, मेन्छ्याम डाँडा, गुफा पोखरीले पनि यस क्षेत्रमा थप पर्यटकहरु तान्ने गरेको छ । टिएमजे क्षेत्रबाट मकालु, कञ्चनजंघा लगायतका हिमालहरु समेत देख्न पाईने भएकोले यस क्षेत्रमा पर्यटकको घुईचो लाग्ने गरेको स्थानीय छिरिङ लामाले बताए ।

वर्षेनी हजारौं पर्यटकहरु पुग्ने ठाउँमा सुरक्षामा कसैले ध्यान नदिएकोमा भने पर्यटकहरुले दुःख ब्यक्त गरेका छन् । यस पटक नयाँ वर्षको अवसरमा मात्र करिब पाँच हजार बढि आन्तरिक पर्यटकहरुको जमघट भएपनि जम्मा चार जना प्रहरीको ब्यवस्था गरिएकोमा आफूहरुलाई दुःख लागेको संखुवाससभा खाँदबारीबाट घुम्न पुगेका अञ्जना कुलुङले बताइन् । सुनसरी जिल्लाबाट आएको पत्रकार टालीले पनि त्यस क्षेत्रमा सुरक्षाको ब्यवस्था अनिवार्य गर्नुपर्ने बताएका थिए । ‘सबै मान्छे सज्जन हुँदैनन् चोरी, डकैती पनि गर्न सक्छन्’ पत्रकार भैरव आङ्लाले भने ‘यो पटक पनि दुई जनाले खुकुरी हानाहान गरे, तर सुरक्षा निकायको उपस्थिती शुन्य नै रह्यो ।’

पर्यटकहरुको आवश्यकतालाई हेरेर ब्यवस्थापनमा ध्यान दिए त्यस क्षेत्रमा राम्रो आमदानी समेत गर्न सकिने पर्यटकहरुले बताएका छन् । होटल र राम्रो खानेपानीको व्यवस्था गर्न सके पनि केहि हदसम्म पर्यटकहरुलाई राहत मिल्ने पत्रकार आङ्लाको भनाई छ । टिएमजे क्षेत्रको सुरक्षा व्यवस्थामा ताप्लेजुङ, तेह्रथुम र संखुवासभाले उत्तिकै ध्यान दिनुपर्ने जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी गौतमकुमार केसीको भनाई छ । टिएमजे क्षेत्रको भू–भाग बढिजसो तेह्रथुममा पर्ने भएकोले तेह्रथुम प्रहरीले नै सुरक्षा व्यवस्थामा पनि बढि ध्यान दिनुपर्ने डिएसपी केसीले बताए । संखुवासभा जिल्लाको तर्फबाट टुटे देउराली प्रहरी चौकीबाट प्रहरी खटाउने गरिएको र आवश्यक पर्दा ईलाका प्रहरी कार्यालय चैनपुरबाट पनि प्रहरी खटाउने गरेको उहाँको भनाई छ ।
aajakokhabar

,

news and entertainment