उत्तर कोरियामाथि चीनले चाल्यो कडा कदम, सामान आयातमा कडाई
बेइजिङ (चीन), २३ चैत । चीनले उत्तर कोरियाबाट आयात गर्दै आएका सामान कोइला तथा फलाम आयातमा कडाई गरेको बेइजिङले मङ्गलबार जनाएको छ ।
बेइजिङले उत्तर कोरियासँगको सामान खरिदमा कडाई गरिनु चीनको संयुक्त राष्ट्रसङ्घद्वारा उत्तर कोरियामाथि लगाइएको आर्थिक नाकाबन्दीप्रतिको समर्थन स्वरुप आएको निर्णय भएको बुझाई विश्व समुदायको छ ।
उत्तर कोरियालाई पटकपटक चेतावनी दिई आणविक गतिविधि रोक्न अनुरोध गरे पनि उत्तर कोरियाले यसलाई बेवास्ता गरेपछि राष्ट्रसङ्घले उत्तर कोरियाविरुद्ध नाकाबन्दी लगाउने निर्णय गरेको हो ।
चीनले उत्तर कोरियाबाट आयात गर्ने फलाम तथा कोइला जीविकोपार्जनका लागि मात्रै भएमा यस प्रयोजनका लागि गरिने निर्यातलाई भने खरिद गर्न दिने बताएको छ ।
चीन र उत्तर कोरियाबीच गएको वर्ष करिब एक अर्ब अमेरिकी डलर बराबरको कोइला कारोबार भएको चीनको भन्सारबाट प्राप्त तथ्याङ्कले देखाएको छ ।
केही समयअघि उत्तरले चीनलाई शत्रु भनेको थियो । रासस
