यात्रुवाहक रेलमै दुईवटा रकेट प्रहार, दुई यात्रुको ज्यान गयो

 
इस्लामाबाद, पाकिस्तानको उत्तरपश्चिममा पर्ने सिबी जिल्लामा मङ्गलबार एक यात्रुवाहक रेललाई लक्ष्यगरी दुईवटा रकेट आक्रमण गरिएको समाचार छ ।
सो आक्रमणपछि रेल अनियन्त्रित भएर लिगबाट उछिट्टिएको बताइएको छ । यसरी भएको रेल दुर्घटनामा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।


यस दुर्घटनामा परी अन्य आठ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । बलुचिस्तान प्रान्तको सिबी जिल्लाको बख्तियाराबादमा यात्रा गरिरहेको सो रेलमा नै अज्ञात आतङ्ककारीले रकेट प्रहार गरेको स्थानीय टेलिभिजन च्यानल उर्दुले जानकारी दिएको छ ।

यस रकेट प्रहारबाट रेलको अगाडिको भाग प्रभावित भएको र रेलको दुई वटा डिब्बा लिगबाट छुट्टिएको बताइएको छ । रेल्वे अधिकारीहरुका अनुसार जाफार एक्प्रेस नामक यो रेल प्रान्तीय राजधानी क्वेटाबाट पञ्जाव प्रान्तको रावलपिन्डी सहरतर्फ गईरहेको अवस्थामा आक्रमण भएको बताइएको छ ।

घाइतेहरुलाई उपचारार्थ अस्पताल लगिएको र तीमध्ये केहीको अवस्था चिन्ता जनक भएको बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।

सुरक्षा अधिकारीहरुले आक्रमण भएको इलाकालाई घेरामा हालेर अनुसन्धान थालेको बताइएको छ । बलुचिस्तान प्रान्तका प्रमुख मन्त्री सनाउल्लाले सो आक्रमणको निन्दा गर्नु भएको छ ।
रेल्वे अधिकारीहरुले अज्ञात व्यक्तिले उक्त रेलमा दुईवटा रकेट आक्रमण गरेको जनाएका छन् । तर यस आक्रमणमा तालिवानको हात रहेको प्रहरीले जनाएको छ । रासस

,

news and entertainment