फिचर,
समाचार
»
छोराको सम्झनामा छात्रावास - दामोदर न्यौपाने,
छोराको सम्झनामा छात्रावास - दामोदर न्यौपाने,
काठमाडौं चैत्र २१, २०७२- खासमा यो बाटै हैन । जता खाली छ, त्यतै हिँड्दा बाटो जस्तो बनेको मात्रै हो । खोरिया फाँडेको ठाउँ तेर्साे कतै छैन, पूरै ठाडो । त्यस्तै बाटो ६ घन्टा उकालो हिँडेर चितवन लोथर गाविसको ज्यारवाङ पुगियो । ज्यारवाङ पुग्दा झमक्क भइसकेको थियो । त्यहाँबाट अझै दुई घण्टा हिँडेर कान्दा पुग्नु थियो । ज्यारबाङबाट बाटो तेर्साे भएकाले यात्रा अलि सहज हुने अनुमान थियो । केही नानीहरू लिएर होस्टलकी स्वयसेवी वर्षा रायमाझी ज्यारवाङ आइपुगिन् । टर्चलाइट बोकेर उनीहरू अघि लागे । बाटो देखाए । अप्ठेरो बाटो छिचोल्दै राति १० बजे कान्दा पुगियो । विद्यार्थी सुतिसकेका थिए । होस्टल इन्जार्च मनोज श्रेष्ठलगायत हाम्रो प्रतीक्षामा थिए । कुमार बलराम स्मृति छात्रावास कुनै विदेशी दाताको सहयोगमा चलेको होइन काभ्रेका विष्णु गौतमले आफ्ना दुई छोराको सम्झनामा यो काम गरेका हुन् । आफ्नो भएको सम्पत्ति बेचे । गौतमका अनुसार काभ्रे पाँचखालको ४३ रोपनी जग्गा बेचिसकेका छन् । त्यसले नपुगेर देशविदेशमा बस्ने नेपालीसँग चन्दा उठाएर चलाइएको हो । २०६७ सालमा च्याउ खाएर एकै परिवारका आठजनाको मृत्यु भयो यही गाउँमा । त्यही समाचारले मनकारी गौतमको मन छोयो । काभ्रेमा समाज सेवा गरिरहेका गौतम कान्दा पुगे । त्यहाँका बालबालिकाको अवस्था देखे । उनीहरूलाई गाउँमै स्याहार गर्ने, पढाउने अठोट गरे ।

दिवंगत छोराहरूको स्मृतिमा खोलिएको लक्ष्मी प्रतिष्ठानमार्फत सहयोग जुटाए । त्यही छात्रावास हेर्न कोरियोग्राफर सुमनसागरजंग केसीसहित त्यहाँ गइएको थियो । छात्रावासमा ८६ जना छन् । यही वर्षदेखि यो संख्या बढाएर एक सय ६ पुर्याउने लक्ष्य छ । ती सबै कान्देश्वरी प्राविमा पढ्छन् । बस्न १३ वटा ब्लक बनेका छन् । सोलारबाट बत्तीको व्यवस्था छ । पाँचजना शिक्षक छन् । तिनीहरूलाई विहान बेलुका छात्रवासमा बस्दा पाँचजना शिक्षकले पढाउँछन् । दिउँसो कान्देश्वरी पढ्छन् । छात्रावासका शिक्षकले त्यहाँ गएर पनि पढाउँछन् । दिउँसोको खाजाचाहिँ मितेरी फाउन्डेसनले खुवाउँदै आएको छ । कान्देश्वरीका प्रधानाध्यापक बालकृष्ण थपलियाका अनुसार छात्रावास बनेपछि कान्दालाई हेर्ने दृष्टिकोण बदलिएको छ । कान्दा चर्चामा छ । पढाइको स्तर वृद्धि भएको छ । बालबालिकाको आनीबानीमा परिवर्तन आएको छ । स्वास्थ्यमा सुधार आएको छ । ‘अबको दुई वर्षमा यहाँका बालबालिका सहरमा पढ्नेसँग प्रतिस्पर्धा गर्ने खालका हुनेछन्,’ थपलियाले सुनाए, ‘अरू ठाउँमा पनि यस्तै व्यवस्था भइदिए शिक्षामा आमुल परिवर्तन ल्याउन धेरै वर्ष कुर्नु पर्दैन ।’ यही वर्षको असारबाट सुरु भएको हो छात्रावास । यसलाई कसरी दिगो बनाउने भनेर योजना पनि बनाएको छ प्रतिष्ठानले । ५४ रोपनी जग्गा छ छात्रावासको । त्यही तरकारीखेती गरिएको छ । आलु, गाँजर, बकुल्ला, काउली, बन्दा, साग, केराउजस्ता तरकारी फलेका छन् । खेती गर्न चारजना स्टाफको व्यवस्था गरिएको छ । बारी जोत्न एक हल गोरु छ । ११ वटा बाख्रा छन् । आफैं बाख्रा पालेर मासु खुवाउने योजनाअन्तर्गत ११ वटा बाख्रा पालिएका छन् । त्यसलाई अझै बढाउने योजना छ । यसलाई रेखदेख गर्न एकजना व्यवस्था गरिएको छ । सबै गरेर १४ जना स्टाफ छन् । प्रतिष्ठानका अध्यक्ष गौतमका अनुसार यो सबै व्यवस्था गर्न महिनामा ६ लाख रुपैयाँ खर्च हुन्छ । पुत्रवियोगको शोकलाई शक्तिमा बदल्न पर्यटन व्यवसायी गौतमले समाज सेवामा हात हालेका हुन् । नौ महिनाको बीचमा दुई छोरा दुर्घटनामा मृत्यु भयो । ठूलो छोरा कुमार गौतमको २८ वर्षको उमेरमा मृत्यु भयो । उनी पर्यटन व्यवसायमा राम्रो गरिरहेका थिए । कान्छो छोरा बलरामले अमेरिकामा युनिभर्सिटी टप गरेका थिए । उनको पनि सडक दुर्घटनामा मृत्यु भयो २०६२ असाजेमा । आमा लक्ष्मीले बाबुहरूको नाममा केही गर्ने इच्छा देखाइन् । आमाको इच्छाअनुसार केही गर्न प्रतिष्ठान बन्यो । ‘च्याउ खाएर आठजनाको मृत्यु भएको थाहा पाएपछि कान्दा पुगें,’ चन्दा संकलन गर्न अमेरिका रहेका गौतमले भाइबरमा सुनाए, ‘त्यहाँको अवस्था देख्दा भावविह्ल भएँ । बच्चालाई जोगाउन छात्रावास जरुरी देखें । काम सुरु पनि गरिहालें । अहिले संसारभरका नेपालीबाट सहयोग भइरहेको छ ।’
ekantipur