साकार हुँदै विमानस्थल सपना

साकार हुँदै विमानस्थल सपना
पोखरा-चार दशकदेखि रोकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आजबाट औपचारिक रुपमा सुरु हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको पहिलो दिन औपचारिक कार्यक्रमबीच विमानस्थल निर्माण शिलान्यास गर्दैछन्।


अवरोध नभए अबको चार वर्षभित्र पोखरामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल तयार भई विभिन्न मुलुकसम्म सिधा हवाई उडान सञ्चालन हुनेछ ।

पोखरामा विमानस्थल बनेपछि यसले पोखरा मात्र नभई समग्र पश्चिम क्षेत्र र मुलुककै विकासको ढोका खोल्ने स्थानीयको अपेक्षा छ । त्यही खुसीयालीमा शिलान्यास कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबैतिरबाट सहभागिता जुटेको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय स्थानीय सहयोग समितिका संयोजक तथा सांसद रवीन्द्र अधिकारीले पोखरामा चार वर्षभित्र विमानस्थल बन्ने र त्यसले पोखराको पर्यटन क्षेत्रको विकासका लागि मुख्य ढोका खोल्ने बताए ।

राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई समयमै सम्पन्न गर्नु सबैका लागि खुसीको कुरा भएको उनले बताए । 'यसले पोखरालाई मात्र नभई समग्र मुलुकलाई नै उकास्छ,' अधिकारीले भने, 'सबैभन्दा बढी पर्यटन क्षेत्रमा फाइदा पुग्नेछ ।'

विमानस्थल बनाउन अब कतैबाट अवरोध आउन जरुरी नरहेको उनले बताए । आयोजना अघि बढाउन कुनै समस्या नरहेकाले शिलान्यासपछि निर्माण निरन्तर अघि बढ्ने अधिकारीको भनाइ छ । पोखरामा यो विमानस्थल बनेपछि यसले ४ नम्बर प्रदेशलाई मात्र नभई समग्र नेपाललाई नै फाइदा पु¥याउने उनले जनाए ।

छिमेकी मुलुक चीन र भारतबाट समेत नजिक पर्ने भएकाले पोखराबाट ती मुलुकका विभिन्न सहरसम्म सिधा उडान सञ्चालन गर्न सकिनेछ जसबाट पोखराले समेत पर्याप्त पाहुना पाउने अधिकारीको विश्वास छ ।

पछिल्लो समय पोखराको पर्यटन क्षेत्रले चिनियाँ र भारतीय पर्यटकबाट ठूलो राहत महसुस गरेका छन् । विमानस्थल बनाएर ती मुलुकबाट सिधै पोखरामा पर्यटक झार्न सके यसले मुलुककै आर्र्थिक अवस्था उकास्ने अधिकारी बताउँछन् ।

पोखरामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल, पोखराबाट मुस्ताङको कोरला नाका खोलेर तिब्बतसम्मको पहुँच, कालिगण्डकी करिडोर लगायत आयोजना पूरा गर्न सके मुलुकले आर्थिक विकासमा कोल्टो फेर्ने उनले बताए । आसपासका धार्मिक क्षेत्रलाई पोखरासँग जोड्दै विकासमा अग्रता दिलाउने मुख्य माध्यम विमानस्थल बन्ने अधिकारीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले हालै मात्र चीनसँग विमानस्थल निर्माण गर्न ऋण लिनेलगायत दसबुँदे सम्झौता गरेपछि पोखरेलीको विमानस्थल सपना पूरा हुने संकेत देखिएको थियो ।

विमानस्थल बनाउन २१ अर्ब ४७ करोड रुपैयाँ लाग्ने अनुमान छ । चाहिनेजति रकम अर्थ मन्त्रालयले चीनको 'एक्सपोर्ट–इम्पोर्ट' (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति भइसकेको छ ।

चार दशकअघि पोखरा–१४, १५ र १८ वडाका ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुग्ने देखिएपछि थप ६ सय २९ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।

चीनले ऋणको २५ प्रतिशत निब्र्याजी र बाँकी ७५ प्रतिशत रकम दुई प्रतिशत ब्याजदरमा उपलब्ध गराउने सहमति भइसकेको छ । निब्र्याजी रकमपछि अनुदानमा परिणत हुन सक्ने आयोजनाको आशा छ ।

पोखरामा विमानस्थल बनाउन करिब दुई वर्षअघि चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो । प्राधिकरण र सिएएमसिइबीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डययन अर्गनाइजेसन)को मापदण्ड अनुसार 'फोरडी' मोडलमा विमानस्थल बनाउने उल्लेख छ ।

इपिसी मोडलमा बन्ने भएकाले ठेकेदारले चार वर्षपछि सरकारलाई विमानस्थल हस्तान्तरण गर्नेछ । फोरडी विमानस्थलबाट बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उडान गर्न सक्नेछन् । २५ सय मिटर लामो र ४५ मिटर चौडा धावनमार्ग हुने विमानस्थलमा एकपटकमा आधा दर्जनभन्दा बढी ठूला जहाज पार्किङ गर्न मिल्नेछ ।

पोखरामा विमानस्थल बन्न लागेकामा यहाँका नागरिक तथा पर्यटन व्यवसायी निकै खुसी छन् । त्यही खुसीयालीमा पर्यटन व्यवसायी र नागरिक समाजले बुधबारको शिलान्यासलाई भव्य बनाउने तयारी गरेका छन् । त्यसका लागि यहाँका व्यवसायीले विभिन्न समूह बनाएर कार्यक्रम तय गरेका छन् ।

पोखरामा विमानस्थल बन्नु पोखरेलीका लागि गौरव अनुभूति गराउने उपलब्धि रहेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापा बताउँछन् ।

'विकास निर्माणका आयोजना बनाउन हामीले आन्दोलन गर्नुप¥यो । त्यसको रिजल्ट बल्ल आउने देखिएको छ । त्यसले हामीलाई निकै खुसी तुल्याएको छ,' उनले भने, 'त्यही खुसीयालीमा हामी शिलान्यास भव्य बनाउन जुटेका छौं ।'

'यो पोखराको मात्र नभई मुलुककै गौरबको आयोजना हो । करिब चार दशकको प्रतिक्षा अब सकिन थालेको छ,' उनले थपे ।

स्थानीय पर्यटन व्यवसायीमा पनि विमानस्थल बन्न थालेकोमा खुसीको सीमै छैन । पोखरा पर्यटन परिषद (पिटिसी) का अध्यक्ष सोमबहादुर थापा पोखराका लागि विमानस्थल बन्नु विशेष महŒव हुने बताउँछन् । 'विभिन्न सहरसम्म पहुँच पु¥याउन यो विमानस्थल सहयोगी हुनेछ,' उनले भने, 'पर्यटन क्षेत्रमात्र नभई समग्र पश्चिमको विकासका लागि विकासको ढोका खुल्नेमा हामी आशावादी छौं ।' पोखरामा अहिले वर्षमा करिब ३ लाख विदेशी पर्यटक आउने गरेकोमा विमानस्थल बनेर पहँुच विस्तार भए पर्यटक आगमन धेरै गुणाले बढ्ने थापाको भनाइ छ ।

पोखरामा विमानस्थल बन्ने आशाले अहिले व्यवसायीले पर्यटन क्षेत्रमा ठूलो लगानी गरेको उनले बताए ।

'पोखराको पर्यटन क्षेत्रमा लगानी बढ्नुमा मुख्य कारण पनि विमानस्थल बन्न थालेकाले पनि हो । अहिले निकै लगानी पर्यटन क्षेत्रमा बढिरहेको छ,' थापाले भने, 'विमानस्थल निर्माणपछि लगानी अझै बढ्नेछ ।'

बुधबार हुने शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित ऋणदाता चीनका उच्च पदाधिकारीलाई समेत पोखरा ल्याउने पहल भइरहेको अधिकारीले जानकारी दिए ।

तीबाहेक मुख्य राजनीतिक दलका नेता पनि पोखरा आउने उनले बताए । शिलान्यासलाई भव्य बनाउन व्यवसायीले विभिन्न झाँकीसहित खुसीयाली ¥याली निकाल्ने तयारी गरेका छन्।

गाउँ–गाउँबाट समेत नागरिकलाई पोखरा उतारेर शिलान्यसमा सहभागिता जनाउने तयारी उनीहरुको छ ।
nagariknews

,

news and entertainment