स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं : पूर्व राजा ज्ञानेन्द्र
नेपालको राजनीतिमा विदेशी हस्तक्षेप बढिरहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाहले दक्षिण एसियामा नेपाल र नेपालीको हैसियत के थियो, अहिले कस्तो छ र नेपाललाई यो अवस्थामा पुर्याउन को को जिम्मेवार छन् भन्ने बुझिसकेकाले सबै देशभक्त एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।
नयाँ वर्ष २०७३ को अवसरमा मंगलबार शुभकामना सन्देश दिंदै पूर्व राजाले शासकीय संयन्त्रलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने नेताहरुको शैलीले पनि नेपाल कमजोर बनेको बताउनुभएको छ ।
नेपाली दिदी बहिनी तथा दाजुभाइहरु,
२०७२ लाई विदाई गरेर हामी विक्रम सम्वत् २०७३ मा आइपुगेका छौं । नववर्षको शुभागमनको उपलक्ष्यमा म देश विदेशमा रहे-बसेका समस्त नेपालीहरुमा सुख, शान्ति, समुन्नतीको लागि कामना गर्दछु ।
विक्रम सम्वत्ले मिती, तिथी र नेपाली संस्कृतीलाई जोडेको हुन्छ । हाम्रा राष्ट्रिय मान्यताहरु (धर्म, संस्कृती, भाषा, इतिहास र सभ्यता) विपरित प्रहार भइरहेको वर्तमान अवस्थामा हाम्रा पुर्खाले सुम्पीएको धरोहरहरू आफ्ना सन्ततीलाई कसरी हस्तान्तरण गर्न सक्छौं भन्ने प्रश्न अहिले अझ पेचिलो बन्दै छ ।
त्यसका लागी दक्षिण एसियाको भुराजनितिक सम्वेदनशीलता र शक्ति सन्तुलनको हेक्का राख्न जरुरी छ । हामी को थियौं, कहाँ थियौं, अहिले कून स्थितीमा छौं, देश कता जाँदैछौं । समाजको मनोदशा के छ, हाम्रो साझा र सहि मार्ग चित्र के हुनु पर्दछ, कसको के कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व र मान्यता छ, अनि क–कसको कस्तो अर्गेल्याईं छ भन्ने विषयलाई वर्तमान अवस्थामा सवैले बुझिसकेका छन् । राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दूरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भैसकेको छ ।
राष्ट्र सम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भुमण्डलीय राजनिती नयां चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णा विचको फाटो नोक्सानदायी भैसकेको छ । त्यसैले स्वदेशको माटोमा दह्रोसँग खुट्टा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधीन प्रमुख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढुन आवश्यक भैसकेको छ ।
आफ्नो भाषा, इतिहास र धर्म संस्कृतीहरु देशका आधार हून् भन्ने विषयलाई मनन् गर्दैै स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बुझेर मात्र परधर्म बुझौं यहि मेरो शुभकामना ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल ।
nepaljapan
