रहेनन् पूर्व प्रधानसेनापति राणा, अभिभावक गुमाएपछि शोकमा डुब्यो नेपाली सेना
काठमाडौं, २४ चैत । नेपाली सेनाका पूर्व प्रधानसेनापति गडुल शम्शेर जबरा (राणा)को ८० वर्षको उमेरमा बुधबार निधन भएको छ । जबराको निधनले नेपाली सेना शोकमा डुबेको छ ।
क्यान्सरबाट पीडित राणा लामो समयदेखि सैनिक अस्पताल छाउनीमा उपचाररत थिए । उनको आज विहान २ बजेर १९ मिनेटमा निधन भएको सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले जनाएको छ ।
विस १९९२ साल चैत ८ गते ललितपुरमा जन्मिएर २०११ साल साउन ४ गते नेपाली सेनामा प्रवेश गरेका जबरा २०४८ साल जेठ १ गते प्रधानसेनापति पदमा नियुक्त भएका थिए । चार वर्ष पदमा रहेका जबराले २०५२ साल बैशाख २१ गते नेपाली सेनाबाट सेवानिबृत्त (अवकास) पाएका थिए ।
लामो सैनिक जीवन व्यतित गरेका राणाको कार्यकालमा नेपाली सेनाको विकास र आधुनिकीकरणका अनेक महत्वपूर्ण कार्यहरु भएका थिए । उनको कार्यकालमा मुस्ताङ्ग जिल्लाको कैशाङ्गमा माउन्टेनियरिङ स्कुलको शुरुवात, नेपाली सैनिक प्रतिष्ठानमा अधिकृत आधारभूत तालिम दिने सिलसिलामा स्नातक तहको अध्यापन कार्यको शुरुवात र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको स्थापना गरिएको थियो । त्यस्तै, कटारी-ओखलढुंगा सडक आयोजनाको निर्माण कार्यको शुरुवात लगायतका उल्लेखनीय कार्यहरु उनकै कार्यकालमा भएको थियो ।
दिवंगत राणाको अन्तिम बिदाईमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले उनको पार्थिव शरिरमा माल्यार्पण गरी नेपाली सेनाको तर्फबाट भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिन् । उक्त अवसरमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, नेपाली सेनाका सकलदर्जा एवं अन्य विभिन्न महानुभावहरुका साथै उनका नाता कुटुम्ब तथा परिवारजनहरुले पुष्पमाला अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । राणाको पार्थिव शरिरको अन्त्येष्टिको दौरान पशुपति आर्यघाटमा नेपाली सेनाको एक टुकडीले अन्तिम सम्मान प्रदान गरेको थियो । सो अवसरमा प्रधान सेनापति, पूर्व प्रधान सेनापतिहरु, रथीबृन्द, अवकाश प्राप्त रथीबृन्द एवं परिवारजन लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
नेपाली सेनामा लामो समय सम्म सेवामा रही नेपाली सेनाको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उजागर गर्ने एक पूर्व प्रधानसेनापति बुधबार ८० वर्षको जीवन व्यतित गर्दै यस संसारबाट परमात्माको काखमा चीरशान्तिबासमा लीन भएकोमा उनको आत्माको चीर शान्ति एवं शोक सन्तप्त परिवारप्रति समग्र नेपाली सेनाले श्रद्धान्जली अर्पण समेत गरेको छ ।
राणाका एक श्रीमती, दुई छोरी र दुई छोरा छन् ।
dainiknepal
