स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्यौलमा
काठमाडौं, जेष्ठ १२ - विद्यार्थी संगठनको चर्को दबाबमा जेठ २३ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्यौ
लमा परेको छ ।
सहमतिका लागि दुई दिन लामो छलफल भए पनि विद्यार्थी संगठनहरु टुंगोमा नपुग्दा चुनाव अन्यौलमा परेको छ । आइतबार उपकुलपति हिरा महर्जनले बोलाएका प्रमुख चार विद्यार्थी संगठनको बैठकमा पनि अडान यथावत रहेपछि चुनाव नहुने दिशातिर अघि बढेको छ ।
राजधानीमा ठूला क्याम्पसमध्ये केहीमा तालाबन्दी भएको छ भने केहीमा निर्वाचन समितिले राजीनामा दिएको छ । 'चुनाव गर्ने विषय जटिल बन्यो,' सहमतिका वार्तामा सक्रिय नेविसंघ प्रवक्ता यूपी लामिछाने भन्छन्, 'चुनाव हुने/नहुने अन्यौल थप चर्किंदै गएको छ ।'
त्रिवि उपकुलपतिसँग आइतबार भएको छलफलमा नेकपा-माओवादी निकट अखिल क्रान्तिकारी र एमाओवादी निकट अखिल क्रान्तिकारीले विद्यार्थी भर्नाका विषयमा अडान छाडेनन् । माओवादी निकट क्रान्तिकारीले निर्वाचन प्रयोजनका लागि भएका एकमुष्ट भर्ना खारेजको अडान राखेको छ ।
एमाओवादी निकट अखिल क्रान्तिकारीले त्रिविको नियमबमोजिम भएका वैद्यानिक भर्ना रद्द गर्न नमिल्ने तर्क गरेको छ ।
एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघले जेठ २३ गते चुनाव गर्न सवै विकल्पमा छलफल गर्न तयार गरेको बताएका छन् । उनीहरुले विवादित क्याम्पसमा निर्वाचन स्थगन गर्न, छानबिन समिति गठन गर्ने र बाँकी क्याम्पसमा तोकिएकै मितिमा चुनाव गर्न प्रस्ताव गरेका छन् ।
एमाओवादी निकट अखिल क्रान्तिकारीले एकैपटक स्ववियु चुनाव हुनुपर्ने अडान र माओवादी निकट क्रान्तिकारीले भर्ना खारेजीको मागबाट पछि नहट्ने बताएपछि चुनाव अन्यौलमा परेको छ ।
कीर्तिपुर क्याम्पसमा निर्वाचन समितिले राजीनामा दिएको छ भने क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको छ । यसैगरी आरआर, ताहाचल, बानेश्वर र सानोठिमी क्याम्पसमा तालाबन्दी छ ।
पुल्चोक क्याम्पसमा निर्वाचन समितिले तालाबन्दी गरेको छ । विश्वभाषा क्याम्पस र पोखराको पृथ्विनारायण क्याम्पसमा पनि विद्यार्थी संगठनबीचको तनाव कायमै छ ।
