ल्होत्से हिमाल आरोहीको मृत्यु


सोलुखुम्बु, ६ जेठ। ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा आज बिहान एक ताइवानीको मृत्यु भएको छ। केही दिनअघिदेखि बिरामी भएदेखि नै उनलाई उद्धार गर्ने प्रयास गरिए पनि हेलिकोप्टर पुग्न नसक्दा गए राति १ बजे चौथो क्याम्पमा उनको मृत्यु भएको हो।  मृत्यु हुने हसिओ सिह ली ताइवानी  ५८ वर्षका थिए। सात हजार ८०० मिटरको ल्होत्से हिमाल सफलतापूर्वक चढेर फर्कने क्रममा चौथो क्याम्पमा आइपुगेपछि उनका हातगोडा चल्न छाडेका थिए। मोटो शरीर भएकाले पनि दुई तीन जना शेर्पाका प्रयासले मात्रै उनलाई बोकेर तल ल्याउन नसकिएको सम्पर्क अधिकृत खिमलाल गौतमले जानकारी दिनुभयो।

आइतबारै उनको उद्धारका लागि हेलिकोप्टर बोलाइएको भए पनि प्रतिकूल मौसम भएकाले उद्धार सम्भव नभएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का आधार शिविर प्रबन्धक छिरिङतेन्जिङ शेर्पाले बताउनुभयो। आज पनि प्रतिकूल मौसम भएका कारण लीको शव आधार शिविर ल्याउन सकिएको छैन । उनको शव हेलिकोप्टरबाट ल्याउन साढे सात हजार अमेरिकी डलर लाग्ने भएकाले परिवारका सदस्यसँग सम्पर्क गर्ने प्रयास भइरहेको प्रबन्धक शेर्पाले बताउनुभयो ।

यो मौसममा सगरमाथामा मृत्यु हुनेको सङ्ख्या सात पुगिसकेको छ। ल्होत्से, चोयु र सगरमाथा हिमालको आधार शिविर एउटै भएकाले यी हिमाल चढ्नेहरू ‘क्याम्प थ्री’सम्म एउटै बाटो भएर जाने पनि शेर्पाले बताए। यसैबीच सगरमाथा आरोहणको क्रममा बिरामी हुनुभएका थाइल्यान्डका एक नागरिकको अझै पनि उद्धार हुन सकेको छैन। सगरमाथाको ‘क्याम्प फोर’ मा शनिबार बिरामी परेका पर्यटकलाई उद्धारका लागि फिस्टेल एयरको हेलिकोप्टर परिचालन गरिएको भए पनि मौसम खराबीका कारण ‘क्याम्प फोर’ सम्म हेलिकोप्टर पुग्न नसकेको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक फिरोज बस्नेतले जानकारी दिनुभयो ।

बस्नेतका अनुसार ‘क्याम्प फोर’मा आरोही बिरामी परेको खबरपछि हेलिकोप्टर पठाइएको र हेलिकोप्टरले उद्धार गर्न नसकेपछि ‘क्याम्प थ्री’बाट उपचार गर्न एक टोली गई सामान्य उपचार गरेर बिरामीलाई बोकेरै ‘क्याम्प थ्री’ मा झारिएको हो।

news and entertainment