गुटबन्दीविरुद्ध योजनाबद्ध संघर्ष गर्न एमालेलाई सुझाव
५ वैशाख, काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले पार्टीमा देखिएको गुटबन्दीविरुद्ध योजनाबद्ध रुपमा संघर्ष गर्न पार्टीलाई सुझाव दिएको छ ।
पार्टी मुख्यालय बल्खुमा आइतबार बसेको बैठकले प्रस्तुत विश्लेषण तथा सुझावहरुलाई गम्भीरतापूर्वक ध्यान दिंदै अविलम्ब एक प्रभावकारी “संगठन शुद्धिकरण तथा सुदृढीकरण अभियान” व्यवस्थित रुपमा संचालन गर्न आग्रह गरेको हो ।
‘राष्ट्रिय राजनीतिमा पार्टीको पहल र भूमिका अग्रगामी हुनैपर्छ’ बैठकपछि अध्यक्ष अमृतकुमार बोहोराद्धारा जारी विज्ञप्तिमा भनिएको छ-’यसका निमित्त पार्टीलाई सर्वप्रथम वैचारिक, सैद्धान्तिक तथा संगठनात्मक रुपमा बलियो नबनाई सम्भव हुँदैन । त्यसैले माक्र्सवादी सिद्धान्त र जनताको बहुदलीय जनवादको नीति र कार्यदिशामा दृढ भएर पार्टी निर्माणको प्रक्रियालाई अझ व्यवस्थित योजनाका साथ अघि बढाउनु जरुरी छ ।’
अनुशासन आयोगको बैठकले आयोगमा रिक्त रहेको सदस्य पदमा राजेन्द्रमान श्रेष्ठलाई सर्वसम्मत रुपमा मनोनयन गर्ने निर्णय गरेको छ ।
