चुनावी कानुनबारे राष्ट्रपति र मन्त्रिपरिषद् अध्यक्षबीच छलफल
४ जेठ, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीबीच शनिबार भेटवार्ता भएको छ । शीतलनिवासमा साँझ भएको भेटमा उहाँहरुबीच संविधानसभा सदस्य निर्वाचन सम्बन्धी कानूनी व्यवस्थालाई चाँडो टुङ्गयाई निर्वाचन मिति घोषणा गर्ने लगायतका विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले सरकारले निर्वाचन वातारण निर्माणका लागि गरिरहेका प्रयासका बारेमा अवगत गराउनुभएको थियो । साथै सरकारले गरेको सर्वदलीय बैठक र विभिन्न राजनीतिक दलहरुसँग भएका छुट्टाछुट्टै छलफलमा प्रस्तावित संविधानसभा सदस्य निर्वाचन अध्यादेशका केही प्रावधानहरुका बारेमा विभिन्न राजनीतिक दलले राखेका मागहरुका बारेमा पनि रेग्मीले राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।
भेटमा मुख्यतस् समानुपातिक प्रतिनिधित्व प्रणाली अन्तर्गत राजनीतिक दलले सदस्यको सिट प्राप्त गर्न निर्वाचनमा कूल सदर मतको न्यूनतम १ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान, समानुपातिक निर्वाचनको सिट संख्या र त्यसमा विभिन्न वर्ग, समुदायको प्रतिनिधित्वको सुनिश्चितता लगायतका विषयमा कुराकानी भएको थियो ।
छलफलमा राष्ट्रपति यादवले राजनीतिक दलहरु चाँडै सहमतिको बिन्दूमा पुगुन् र सरकार पनि ठोस् निष्कर्षमा पुगो्स् भन्ने विचार व्यक्त गर्नुभएको थियो । मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले निर्वाचनमा अधिकतम् राजनीतिक दलको सहभागिता र समावेशीता सुनिश्चित गर्दै निर्वाचन मिति घोषणा गर्न सरकार चाँडै निष्कर्षमा पुग्न प्रयत्नशील रहेको कुरा बताउनुभयो । रेग्मीले यस सम्बन्धमा राष्ट्रपतिबाट आवश्यक पहल र सहयोगको अपेक्षा गरेको कुरा पनि बताउनुभएको रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
