सुराकी नै अपराधीका 'संरक्षक'

वीरगन्ज, जेष्ठ १८ - प्रहरीले सूचना संकलनका लागि प्रयोग गरेका व्यक्तिले नै 'कुख्यात' अपराधी बब्लु दुबेलाई संरक्षण दिएको खुलेको छ । बिहारमा भएका ३६ हत्याका अभियुक्त फरार अपराधी दुबे पक्राउ परेपछि उक्त रहस्य खुलेको हो । नारायणी अञ्चल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालको टोलीले दुबेलाई मगंलबार राति काठमाडौँबाट पक्राउ गरेको थियो ।
दुबेले प्रयोग गर्ने फोन नम्बरको अनुसन्धान गरेको अञ्चल प्रहरीको टोलीले नियमित रूपमा ९८०६८१३९०७ नम्बरमा फोन सम्पर्क भएको पाएको थियो । उक्त फोन नम्बर रमेश कुर्मीको नाममा दर्ता छ । कुर्मी ०६९ जेठ १७ मा पक्राउ परेका थिए । सार्वजनिक मुद्दापछि रिहा भए पनि प्रहरीले मोबाइल र सिम फिर्ता नगरेको कुर्मीले बताए । लगातार फोन सम्पर्क देखिपछि अञ्चल प्रहरीले कुर्मीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।
झन्डै १ वर्ष पहिले प्रहरीले कुर्मीको सिम नियन्त्रणमा लिएको पाइएपछि उनी रिहा भएका हुन् । प्रहरी स्रोतका अनुसार प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले उक्त नम्बर प्रयोग गर्ने व्यक्ति आफ्नो सुराकी रहेको बताएका थिए । कुर्मीले पत्रकार सम्मेलन गरेर आफ्नो सिम प्रहरीले फिर्ता नदिएर दुरुपयोग गरेको आरोप लगाए । जिल्ला प्रहरीले दुबेको सूचना संकलनका लागि पर्सा सुर्जाहा गाविसका पूर्व गाविस अध्यक्ष विद्यापति पाण्डेलाई लगाएको थियो ।
गत वैशाख १२ देखि पाण्डे र दुबेबीच दैनिक ५/६ चोटि फोन सम्पर्क भएको पाइएको छ । ३ महिनादेखि दुबेको फोन विवरण अध्ययन गरेको प्रहरीले पाण्डेको नम्बरमा दुबेसँग सम्पर्क भएको पाएको थियो । 'सम्पर्क भएको थाहा भएपछि पाण्डेलाई अर्को सिम उपलब्ध गराएको थियो,' नाम उल्लेख नगर्ने शर्तमा अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, 'पाण्डेलाई विभिन्न प्रलोभन देखाएपछि प्रहरीका लागि काम गर्न सहमत भएका थिए ।' पाण्डेकै सूचना आधारमा बब्लु पछिल्लो समय आश्रयस्थल परिवर्तन गरेका थिए । लामो समयदेखि पर्साको ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका बब्लु अचानक काठमाडौं गएका थिए ।

news and entertainment