चितवनमा बाघले मच्चायो आतंक , दुई जनाको लियो ज्यान
२६ बैशाख, चितवन । पश्चिम चितवनको गीतानगरमा बाघको आक्रमणबाट २ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
गितानगर ४ का ७५ बर्षका हनुमन्त सार्की र गितानगर १ का ३१ बर्षका भिम बहादुर आले मगरलाई बाघले आक्रमण गरेको थियो । यी दुवैको ज्यान गएको छ ।
सार्कीलाई बाघले बिहान ४ बजे घरबाटै लगेको थियो । उनलाई खोज्न गएका स्थानीयले सार्कीको शव दक्षिणकाली सामुदायिक वनमा फेला पारेका थिए । सोहि क्रममा बाघ स्थानिय ३० बर्षका बिकाश न्यौपानेलाई बाघले बिहानै आक्रमण गरी घाइते बनाएको थियो । घाइते न्यौपानेको भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।
सार्कीलाई लगेको करिव सात घण्टा पछि बिहान ११ बजेतिर अन्य स्थानियबासी सहित बाघ गएको झाडीतिर गएका आलेलाई बाघले लगेको थियो । बाघ छैन भन्दै खुकुरी लिएर झाडी तिर गएका मगरलाई आफुहरुकै आँखा अगाडी बाघले लगेको नेपाली कांग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले जनाएका छन् ।
बाघलाई नियन्त्रणमा लिन अहिले दुई वटा हात्ति सहितको टोली घट्नास्थल पुगेको छ । सयौ स्थानियबासी घट्नास्थल नजिक भेला भएका छन् । मानब बस्ती र बाघ रहेको स्थान करीब दुई सय मिटरको दुरी भएकाले स्थानियबासी आतंकित बनेका छन् ।

