किष्ट बैंकका सिइओकी श्रीमती पक्राऊ
२३ जेठ, काठमाडौं । किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमल ज्ञवालीकी पत्नी गौरी खनाल (ज्ञवाली) लाई प्रहरीले बुधबार साँझ महाराजगञ्जबाट पक्राऊ गरेको छ । बैंकिङ ठगीको कसुरमा उनी पक्राउ परेकी हुन् । कसुरमा सिइओ ज्ञवालीसमेत तानिएको प्रहरी स्रोतले बताएको छ ।
सिद्धार्थ विकास बैंकबाट अनुचित तरिकाले ऋण लिई बैंकलाई १३ करोड नोक्सान गराएको राष्ट्र बैंकको अनुसन्धानबाट खुलेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा गौरीलाई पक्राऊ गरिएको हो । महाराजगञ्जबाट पक्राऊ गरी उनलाई महानगरीय प्रहरी प्रभाग, सिंहदरबारमा थुनिएको छ ।
सिईओ ज्ञवाली तनावमा
श्रीमतीलाई कारबाहीका लागि नेपाल राष्ट्र बैंकले पत्राचार गरेको थाहा पाएपछि किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली कार्यालयमा हाजिर हुन छोडेका छन् । उनी केही दिनदेखि बैंकमा नआएको कर्मचारीले बताएका छन् । बैंकका उच्च अधिकारीले सम्पर्क गर्दा ज्ञवाली बोल्न अनिच्छुक रहेको बुझिएको छ । बैंकको प्रतिष्ठामाथि आाच आउनबाट जोगाउन पदबाट राजीनामा गर्न ज्ञवालीलाई निकटस्थहरुले सुझाव दिएको बुझिएको छ ।
