नवाज सरिफद्वारा विमानबाट आक्रमण गर्ने कार्य रोक्न अमेरिकासँग आग्रह
इस्लामावाद (एएफपी), जेष्ठ २३ - पाकिस्तानका नयाँ प्रधानमन्त्री नवाज सरिफले बुधबार अमेरिकालाई मुलुकको उत्तर-पश्चिमी भागमा चालकविहीन विमानबाट आक्रमण गर्ने कार्य रोक्न आग्रह गरेका छन् । उनलाई बुधबार प्रधानमन्त्री पदको तेस्रो कार्यकालका लागि सांसदहरूले समर्थन जनाएका छन् । सैनिक विद्रोहबाट पदमुक्त गरी निर्वासनमा पठाइएको १३ वर्षपछि ६३ वर्षीय सरिफलाई राष्ट्रियसभाले मतदानबाट प्रधानमन्त्री पदमा निर्वाचन गरेको हो । उनले राष्ट्रपति असिफ अली जर्दारीबाट शपथग्रहण गर्नेछन् । हाल पाकिस्तानले विद्युत् आपूर्ति कटौतीदेखि तालिवान लडाकुको आक्रमणसम्मबाट पीडित छ । उनले नागरिकले भविष्यमा चुनौती भएको विषयमा आशंका गर्न नहुने बताए ।
उनले तालिवानसँग शान्तिवार्ताको वकालत गरेका छन् । अर्कोतिर यसलाई शक्तिशाली सेनाले सजिलै
स्वीकार गर्ने देखिँदैन । तालिवानका उपप्रमुख वालियुर रेहमानको अमेरिकी चालकविहीन विमानबाट भएको आक्रमणमा मृत्यु भएपछि गत साता उनले आलोचना गरेका थिए । पाकिस्तानले अमेरिकी अभियानलाई मुलुकको सार्वभौमसत्तामाथि उल्लंघनको रूपमा लिएको छ । 'हामीले अरूको सार्वभौमसत्ताको सम्मान गर्छौं र उनीहरूले पनि हाम्रो सार्वभौमसत्ता तथा स्वतन्त्रताको सम्मान गर्नुपर्छ, यो अभियान अन्त्य हुनुपर्छ,' उनले भने । अमेरिकी चालकविहीन विमानद्वारा क्षेप्यास्त्र आक्रमण त्यहाँ अलोकपि्रय छ । वासिङ्टनले यसलाई तालिवान तथा अल कायदा लडाकुविरुद्ध महत्त्वपूर्ण औजारको रूपमा लिएको छ । नेटोले आउँदो वर्ष आफ्नो अधिकांश सेना १२ वर्षपछि अफगानिस्तानबाट फिर्ता लानेछ । वासिङ्टनसँगको सम्बन्ध सरिफका लागि प्रमुख विषय बन्नेछ । सरिफले नेटोले अफगानिस्तानबाट सेना फिर्ता लगेपछि पाकिस्तानले सहयोग गर्ने बताए । उनले वासिङ्टनले पनि पाकिस्तानको चिन्तालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । पाकिस्तानको अर्थतन्त्रले धेरै वर्षदेखि कमजोर वृद्धि प्राप्त गरेको छ । यसको मुद्राको मूल्य घटेको छ ।
