मस्कोले 'क्षेप्यास्त्र दिएको छैन'
एकाटेरिनवर्ग (एएफपी), जेष्ठ २२ - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार मस्कोले अझै पनि सिरियाको सरकारलाई एस-३०० क्षेप्यास्त्र उपलब्ध गराइनसकेको जानकारी दिएका छन् । यसअघि राष्ट्रपति बसार अल असादले यस्तो हतियार प्राप्त भइसकेको संकेत दिएका थिए ।
राष्ट्रपति पुटिनले यस विषयमा निकै वर्षअगाडि करारमा हस्ताक्षर भए पनि त्यसलाई कार्यान्वयन
नगरिएको बताए । उनले युरोपेली महासंघका नेताहरूसाग एक पत्रकार सम्मेलनमा रुसले यस क्षेत्रमा सन्तुलन बिगार्न नचाहेको बताए । उनले सिरियामा २६ महिना लामो संकटमा कुनै पनि विदेशी सैनिक हस्तक्षेप असफल हुने प्रष्ट पारे ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गत महिना रुसको विशेष भ्रमण गरी मस्कोलाई सिरियालाई हतियार उपलब्ध नगराउन मनाउन प्रयास गरेका थिए । एस-३०० विमानले इजरायली जेटहरूमाथि प्रहार गर्न सक्ने मात्र नभई पश्चिमी वा क्षेत्रीय शक्तिले यस क्षेत्रमा सैनिक सहयोग उपलब्ध गराउने विषयलाई पनि जटिल बनाउन सक्ने अनुमान गरिएको छ ।
