सभामुख चयनपछि एमाले सरकारमा जाँदै

६ फागुन, काठमाडौं । मंगलबार हुने सभामुखको निर्वाचनपछि एमाले सरकारमा जाने भएको छ । दोस्रो संविधानसभाको सभामुखका लागि कांग्रेस र एमाओवादी दुबैले एमालेका सभासद सुवासचन्द्र नेम्वाङ्गलाई समर्थन गर्ने निर्णय गरिसकेका छन् । मंगलबार दिउँसो नेम्वाङलाई सभामुख बनाउन आवश्यक निर्वाचन प्रक्रिया पूरा गरिनेछ ।


अध्यक्ष प्रचण्डले केही दिनअघिसम्म तेस्रो पार्टीलाई सभामुख दिनुपर्ने अडान राखे पनि मंगलबार विहान बसेको एमाओवादी पदाधिकारी बैठकले एमाले उम्मेदवार नेम्वाङलाई नै समर्थन गर्ने निर्णय गरिसकेको छ । एमाओवादीले समर्थन गरेपछि नेम्वाङलाई सभामुख बनाएर एमाले कांग्रेस नेतृत्वको सरकारमा जाने भएको हो । गृहमन्त्रालयको विवादका कारण सरकार गठन भएको दुई साता भइसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन ।

सभामुख चयन गरेपछि प्रधानमन्त्री सुशील कोइरालाले एमालेसँग जारी विवाद समाधानको पहल गर्ने भएका छन् । एमालेले गृहको अडान राखेपछि अप्ठेरोमा परेका प्रम कोइरालाले सभामुख चयनलगत्तै एमालेसँग छलफल गरेर मन्त्रिमण्डल विस्तार गर्ने भएका हुन् ।

मन्त्रीको जिम्मा कोइरालालाई

‘कुन मन्त्रालय कसलाई दिने विषयको टुंगो गर्ने सबै अधिकार पार्टीले प्रधानमन्त्रीलाई दिएको छ’, प्रम कोइराला निकट स्रोतले भन्यो, ‘एमालेलाई सरकारमा ल्याउन प्रमले केही शर्तसहित गृह दिने मनस्थितिमा पुग्नुभएको छ ।’

एमालेले सभामुख चयनपछि सरकारमा जाने मनस्थिति बनाएको एमाले स्रोतले जनाएको छ । ‘प्रम कोइरालाले गृह दिएर सरकारमा बोलाउने संकेत पाएका छौं, पार्टीको अहिलेसम्मको अडान गृह वामदेवलाई नै दिनुपर्छ भन्ने हो’, एमालेका एक पोलिट्ब्यूरो सदस्यले भने, ‘कांग्रेसले गृह दिने अनौपचारिक सन्देश पठाएकाले सभामुख चयनपछि एमाले सरकारमा जान्छ ।’

संसदीय दलको नेता चयनका क्रममा स्थायी कमिटी सदस्य केपी ओलीसँग समीकरण बनाएका उपाध्यक्ष वामदेव गौतमलाई नै एमालेबाट सरकारको नेतृत्व दिने कुरामा ओलीले अडान कायमै राखेका छन् । केही दिनअघि प्रम कोइरालाको सन्देश लिएर ओली निवास बालकोट पुगेका कांग्रेस नेता दीपकुमार उपाध्यायलाई सातबुँदे सहमतिका क्रममा भएका सैद्धान्तिक सहमति कार्यान्वयन भए मात्र सरकारमा जाने प्रष्ट सन्देश ओलीले दिएका थिए ।

गौतमसँगको समीकरण कायम राखिराख्न पनि वामदेवलाई गृहमन्त्री दिनैपर्ने अडान राखेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रम कोइरालासँगको टेलिफोन सम्वादमा पनि सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए । एमाले सचिव विष्णु पौडेलले भने कांग्रेस सहमतिबाट पछि हटेकाले अब सरकारमा जाने कुरा पुरानो भइसकेको बताए । ‘कांग्रेसले सहमति लत्याएकाले अब गृह दिए पनि एमाले सरकारमा जाँदैन’, सचिव पौडेलले भने, ‘सहमतिको मसी सुक्न नपाउँदै गठबन्धन तोड्न खोज्ने कांग्रेसको ब्यबहारमा केटाकेटीपन देखियो ।’

स्रोतका अनुसार ओली र गौतमको समीकरण निर्माणमा निर्णायक भूमिका खेलेका सचिव पौडेलमार्फत नै कांग्रेससँगको विवाद मिलाउन कांग्रेस महामन्त्री कृष्ण सिटौला र अमरेशकुमार सिंहले पनि भेटिसकेका छन् । एमालेसँग कांग्रेसको विवाद जारी रहँदा एमाओवादी अध्यक्ष प्रचण्डले एमालेले खुट्टो झिकेमा सरकारमा जानेबारे छलफल गर्न सकिने बताइसकेका छन् । कांग्रेसले एमाओवादीसँग भन्दा एमालेसँगै सरकार चलाउन निष्कर्ष निकालेर केही शर्तसहित गृह दिने संकेत गरेपछि एमाले सरकारमा जाने भएको हो ।

सरकार गठनमा कांग्रेस र एमालेबीच किचलो बढेपछि दक्षिणी छिमेकी भारतका राजनीतिज्ञ र कुटनीतिज्ञहरु नेपाल आउने क्रम पनि बढेको छ । केही दिनअघि काठमाडौं आएका भारतीय कांग्रेसका नेता करण सिंहले कांग्रेस र एमाले दुबै दलका नेतालाई भेटेर मिलेर अघि बढ्न सन्देश दिएका छन् ।
- अनलाइनखबर

,

news and entertainment