आमा घरका नाममा दिलशोभाको यौनधन्दा, २९ बालबालिकाको उद्दार
फागुन १४, काठमाडौ - यौन दुराचारको आरोपसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रशासनले काठमाडौं रविभवनस्थित दिलशोभा श्रेष्ठको ‘वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी’ (आमा घर) बाट बालबालिकाको उद्दार गरेको छ । आमा घरमा २९ जना बालबालिका रहेका छन् ।
उद्दार गरिएका बालबालिकाको घरपरिवारको अवस्था बुझेर उनीहरूलाई घर पठाउने वा अन्य संस्थामा पठाउने बारे निर्णय भईसकेको छैन । आमाघरमा रहेका वृद्धाहरूको अवस्था पनि नाजुक रहेको रेस्क्युमा संलग्न पदाधिकारीले बताए । उद्दार टोलीमा प्रशासनका साथमा केन्द्रीय बालकल्याण समितिका प्रतिनिधिहरू सामेल छन् ।
अनुमति नलिई बालगृह सञ्चालन गरेको, बालबालिकालाई घरेलु कामदारका रुपमा पठाउने गरेको, गालीगलौज गर्ने गरेकोदेखि महिलालाई अनैतिक काममा लगाउने गरेकोसम्मका गम्भीर आरोपसहित दिलशोभा श्रेष्ठका विरूद्ध उजुरी परेको थियो । उजुरीमा प्रमाणको रूपमा दिलशोभा श्रेष्ठको आवाजको अडियो रेकर्ड समेत राखिएको छ ।
प्रशासनले यो उजुरीलाई लिएर छानबिन गरी कारबाही अघि बढाउने तयारी गरेको छ । उजुरीका साथमा प्रमाणको लागि भनेर बालबालिका र बृद्धाहरुसँगको कुराकानी समावेश भएको अडियो र भिडियो क्लिप्स् र गुठीकी अध्यक्ष दिलशोभा श्रेष्ठको विभिन्न भ्वाइस रेकर्ड समेत संलग्न छ ।
यसअघि उनले राजधानीको रविभवनस्थित आफ्नो वृद्धाश्रममा रहेकाहरूलाई पैसा लिएर अर्काको घरमा काम गर्न र रात बिताउन पठाउँदै आएको अडियो रेकर्ड प्रशासनमा पुगेको थियो । ३ मिनेट ३९ सेकेन्डको उक्त अडियो रेकर्डमा दिलशोभाले भनेकी छन्, ‘१५ सय जति पैसा दिने, बेलुका पकाएर खुवाउने एक छाक, बिहान खुवाउनु परेन, तपाईंलाई माया लाग्छ भने एक कप चिया खुवाएर पठाउनू, बेलुका आएर तपाईंलाई पकाएर खुवाउँछ, रातभरि तपाईंसँग सुत्छ, माया माया माया गरेर बस्छ ।
मोबाइलबाट रेकर्ड गरिएको उक्त संवादमा दिलशोभाको मात्र स्वर सुनिन्छ। हजुर यहाँ आउनुपरेन, हजुरको सेवा गर्न त्यहीँ पठाएको छु मैले, फरक पर्दैन भोलि आउँछ, अडियो रेकर्डमा दिलशोभाले भनेकी छन्, ‘पहिलाको बूढीको कुरा नगर्नू, अहिलेको बुढीको कुरा गर्नुस् । उनले कसैलाई मन्दिरमा पठाइदिने र लुगा लगाएका आधार चिनजान गर्नूसमेत भनेकी छन् ।

