अमेरिकामा एनआरएनएको निर्वाचन हुँदै

न्यूयोर्क । लामो समयदेखि विवादमा रहेको एनआरएनए एनसीसी अफ अमेरिकाले विवादको अन्त्य गरी निकास पाउने भएको छ । विभिन्न गुट–उपगुटमा विभाजित एनआरएनए एनसीसी अफ अमेरिकाले गत आइतबार फेब्रुअरी १० तारिखका दिन स्थानीय हिमालयन याक रेष्टुरेन्टमा डीआरसी सोनाम लामाको नेतृत्वमा संयुक्तरुपमा एक पत्रकार सम्मेलन आयोजना गरी आगामी निर्वाचन र सदस्यता वितरणको विषयका बारेमा जानकारी गराइएको छ ।
विवादमा रुमलिएर अधिक संख्यामा अमेरिकामा बसोबास गर्ने नेपालीहरुको पहुँचसम्म पुग्न असफल एनआरएनए एनसीसी अफ अमेरिकाले अब भने अधिकतम नेपालीहरुलाई समेट्ने उद्देश्यका साथ ताजा जनादेशमा जान लागेको कुरा पत्रकार सम्मेलनमा जानकारी गराइयो । एनआरएनए आईसीसीका तर्फबाट डीआरसी सोनाम लामा, निर्वाचन आयुक्त विनोद रोका, विधान समितिका अध्यक्ष दुर्गा भुर्तेल तथा एनआरएनए एनसीसी अफ अमेरिकाकी मिडिया कोअर्डिनेटर बनिता कतिलाले संयुक्तरुपमा सदस्यता वितरण प्रक्रिया, आगामी निर्वाचन र कानूनी बाधा अड्काउका विषयमा पत्रकारहरुको प्रश्नको जबाफ दिएका थिए । विभिन्न उद्देश्य बोकेर प्रवास बसाइँसराइ गर्ने क्रम बढ्दै गएको वर्तमान नेपाली समाजभित्र दिन प्रतिदिन नेपाली भूमिभित्र झनै एनआरएनको भूमिका बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा संसारभरि बस्ने एनआरएनहरुको एउटै स्वर हुनुपर्ने आवश्यकता खट्किइरहेको कारण करिब दुई लाख नेपाली बसोबास गर्ने नेपालीहरुलाई एनआरएन अझै प्रभावकारी संस्था बन्ने कुरा डीआरसी सोनाम लामाले पत्रकार सम्मेलनमा बताए ।
विगतका तीतामिठा कुरालाई बिर्संदै निकासको दिशामा अगाडि बढ्नुपर्ने विधान समितिका अध्यक्ष दुर्गा भुर्तेलको जोड थियो भने निर्वाचन स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गर्न सकिने कुरामा निर्वाचन आयुक्त कानुन व्यवसायी विनोद रोकाले प्रष्ट पार्ने कोसिस गरेका थिए ।
पत्रकार सम्मेलनमा मिडिया कोअर्डिनेटर बनिता कतिलाले जसरी पनि निर्वाचन गराएर एनआरएनए एनसीसी अफ अमेरिकाले स्पष्ट बाटो दिने एउटै मन्त्र बोकेर वर्तमान समिति हिंडेको हुँदा सबै क्षेत्र, वर्गका अमेरिकाबासी नेपालीहरुको सहयोगको अपेक्षा गरिएको बताएकी थिइन् ।
यसअगाडि विवादमा रहेको एनआरएनए एनसीसी अफ अमेरिकाले आईसीसीको सर्वव्यापी मान्यताविपरीत छुट्टै नाम एनआरएनए पीएनओको नाम दिई अमेरिकाका लागि लोगोसमेत आफ्नै ढंगले प्रयोग गर्दै आएको थियो भने एनआरएनए आईसीसीले सन् २०१४ को जनवरी ३१ तारिखभित्रै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने कडा चेतावनीसहितको पत्र एनसीसी अफ अमेरिकालाई पठाएको थियो । तर, समय अपुग भएपछि थप समय माग गरी हाललाई एनआरएनए एनसीसी अफ अमेरिकाले आगामी मार्च २९ तारिखका दिन निर्वाचनको मिति तोकेको छ भने आगामी फेब्रुअरी २५ लाई सदस्यता फारम बुझाउने अन्तिम मिति तोकेको छ । सदस्यता वितरण प्रक्रिया शुरु भइसकेको अवस्थामा आयोजित पत्रकार सम्मेलनमा स्थानीय नेपाली समाजका विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी र समाजसेवीको उपस्थिति रहेको थियो भने आयोजकले उपस्थितहरुको जिज्ञासालाई शान्त पार्ने कोसिस गरेका थिए । पत्रकार सम्मेलन गरेकै साँझ विधान समितिका अध्यक्ष दुर्गा भुर्तेलले वर्तमान समितिलाई संशोधित विधान अध्ययनको लागि पठाइसकेको बताएका छन् । योजनाअनुरुप काम भएमा र वर्तमान समितिले विधान पास गरेमा समयमै निर्वाचन हुने कुरामा ढुक्क भएको भुर्तेल बताउँछन् ।
http://vishwanews.com/

,

news and entertainment