ससुरालाई बाबु बनाएर नेपाली नागरिकता

किशोर बुढाथोकी |
ससुरालाई बाबु बनाएर नेपाली नागरिकता लिएका भारतको विहार सुपौलका ३८ वर्षीय हैरानु पासवान नागरिकता देखाउँदै। ससुरालाई बाबु बनाएर नेपाली नागरिकता लिएका भारतको विहार सुपौलका ३८ वर्षीय हैरानु पासवान नागरिकता देखाउँदै।

विराटनगर : एक भारतीय नागरिकले ससुरालाई बाबु बनाएर मोरङको ठेगानामा नेपाली नागरिकता लिएको खुलासा भएको छ। भारतको विहार सुपौलका ३८ वर्षीय हैरानु पासवानले गत वैशाखमा नेपाली नागरिकता लिएका हुन्। पासवानलाई सोमबार रंगेली प्रहरीले पक्राउ गरेपछि उनले ससुरालाई बाबु बनाएर नेपाली नागरिकता लिएको खुलासा भएको हो।

मोरङको डाइनिया ५ को ठेगानामा पासवानले नेपाली नागरिकता लिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक माधव काफ्लेले बताए। प्रनि काफ्लेका अनुसार पासवानले ससुरा डाइनिया ५ का सोनाइ पासवानलाई बाबु बनाएर नेपाली नागरिकता हात पारेका हुन्। विशेष सुराकीका आधारमा उनलाई पक्राउ गर्न सफल भइएको मोरङ प्रहरीप्रमुख एसपी विश्वराज पोखरेलले बताए।

एसपी पोखरेलका अनुसार नागरिकता बनाउनका लागि गाउँमै पुगेको नागरिकता वितरण टोलीसँग पासवानले झूटो विवरण पेस गरेर वंशजका आधारमा नागरिकता लिएका हुन्। पासवानले लिएको नेपाली नागरिकताको नम्बर ०५-११-७०/०१६९५ रहेको प्रहरीले जनाएको। पासवानले सासू सुखनीदेवीलाई आमा बनाएर सनाखत गराई २०७० वैशाख २६ गते नागरिकता लिएका हुन्। पासवानले २०३२ साल मंसिर ४ गते मोरङको डाइनिया गाविस ५ मा जन्म भएको झूटो विवरण पेस गरेका छन्।

झूटो विवरण पेस गरेर नेपाली नागरिकता लिने पासवानलाई प्रहरीले पक्राउ गरे पनि नागरिकता दिलाउन बाबुआमा बन्ने ससुरा र सासू भने फरार छन्। स्थानीय भीम भनिने कात्तिकचन्द्र पासवानले एक हजार पाँच सय रुपैयाँ लिएर आफूलाई नेपाली नागरिकता दिलाएको पासवानले बताए। आरोपित भीम पासवान पनि फरार छन्। उनले परिवारसहित २० वर्षअघि डाइनियामा बस्दै आएको बताएका छन्। उनकी पत्नी, एक छोरा र एक छोरी छन्।

प्रहरीले पासवानलाई झूटो विवरण पेस गरेर नागरिकता बनाएको अपराधमा मुद्दा चलाउने तयारी गरेको छ।

नागरिकता ऐन २०६३ अनुसार यसरी झूटो विवरण पेस गरी विदेशीले नागरिकता लिए एक वर्षदेखि पाँच वर्ष कैद वा ५० हजारदेखि एक लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। सनाखत गर्नेलाई ६ महिनादेखि तनि वर्ष कैद वा २५ हजारदेखि ५० हजार वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
http://annapurnapost.com/

, ,

news and entertainment