कतारबाट फर्केको श्रीमानको हत्या गरी अर्कैसँग विवाह


२२ माघ, सुर्खेत । कतारबाट घर फर्किदै गर्दा हत्या गरिएका जुम्लाका राजन बुढाको हत्यामा उहाँकै श्रीमती संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
मृतक बुढा २०६८ पुसमा कतार गएपछि श्रीमती गीता पुलामी (बुढा) ले अर्कै पुरुषसँग सम्वन्ध राखेकी थिइन् । उनैसँग विवाह गर्ने निधोमा पुगेपछि गीताले श्रीमानको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।
श्रीमानको हत्या गरेपछि गीता पूर्व योजनाअनुसार अर्काे बिहे गरेर भागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए । अनुसन्धानमा अवरोध हुनसक्ने भन्दै प्रहरीले गीताले नयाँ पतीको नाम सार्वजनिक गरेको छैन । उनीहरु दुबै फरार छन् । गीताका श्रीमान्, हत्याका अभियुक्त गीता र गीताको नयाँ श्रीमान् तीनै जना माओवादीका पूर्व लडाकु हुन् ।

श्रीमतीको क्रियाकलापबारे जानकारी नभएका बुढालाई गीताले जङ्गलमा लगि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनामा संलग्न अन्य चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । गढी-१ का ३३ वर्षका इन्द्रबहादुर रामजाली, वीरेन्द्रनगर-५ का ७० वर्षका देवीलाल न्यौपाने, जर्वुटा-२ का १७ वर्षीय अमृत भनिने पूर्णबहादुर सुनार र लेखगाउँ-४ की ३३ वर्षीया पविसरा पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रीमानको हत्याका लागि गीताले जादु टुनामुना गरी बाटोमै मार्न जिम्मा लिने न्यौपानेलाई एक लाख दिन्छु भनेको र भनी तीस हजार रकम बैनासमेत दिएको पाइएको छ । प्रहरी उपरीक्षक अधिकारीले भने-’बुढालाई मार्ने भनी एक लाखको सम्झौता गरेको पहिले नै तीन हजार लगिसकेको भेटियो, तीस हजार हामीले बरामद पनि गरिसक्यौ ।’
अभियुक्त न्यौपाने वीरेन्द्रनगर-५ को कालिका मन्दिरका पुजारी समेत हुन् । यस्तै, पक्राउ परेका रामजाली र सुनारको पनि हत्यामा प्रत्यक्ष संलग्नता रहेको र अर्की पविसराले घटनाका योजना थाहा पाए पनि खबर नगरेकाले पक्राउ गरिएको प्रहरीले बताएको छ । पविसरा मृतककी दिदी सासु हुन् ।
बुढाको माघ ६ गते हत्या भएको थियो भने १५ गते मात्रै शव फेला परेको थियो । घाँस काट्न गएका महिलाले जर्वुटा-१ मा पर्ने शिव सामुदायिक वनमा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । रासस

,

news and entertainment