भारत लैजादै गरिएका पाँच बालकको उद्धार


भारतमा बालश्रम गराउन लगिरहेको अवस्थामा पाँचजना बालकको उद्धार गरिएको छ । कानुनविपरीत बालश्रम गराउन लगिरहेको अवस्थामा उनीहरुलाई वीरगन्जस्थित बसपार्कबाट डेभलपमेन्ट नेपाल नामक गैरसरकारी संस्थाले उद्धार गरेको हो ।
सो संस्थाका अनुसार भारतको मुम्बई र बेङ्लोरमा घरेलु काम गराउनका लागि वीरगन्जस्थित बसपार्कमा बसबाट ओर्लेर सीमावर्ती भारतीय सहर रक्सौल जाने तयारीमा रहेको अवस्थामा ती बालकहरुको उद्धार गरिएको हो । उद्धार गरिएका बालकहरु सबै रौतहट जिल्लाका रहेका छन् ।
उद्धार गरिएका बालकहरुमा दिगाटोलाका १० वर्षीय शेख फयाज तथा भसेढवा–३ का १४ वर्षीय रञ्जन राम र सञ्जय राम रहेका छन् भने हर्सालाका १६ वर्षीय मोहम्मद आलम र १४ वर्षीय मोहम्मद मजरे आलम रहेका छन् । उद्धार गरिएका बालकलाई उनीहरुका अभिभावकको जिम्मा लगाउने सो संस्थाका संयोजक सन्दिपसिंह ठकुरीले बताए।
यसैबीच, प्रतिबन्धित लागुपदार्थ गाजासहित प्रहरीले एकजना भारतीयलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारीका राजकुमार कुशवाहा रहेको अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीले जनाएको छ । रासस

news and entertainment