राहदानी बनाउन आएका युवा गाडीमै लुटिए
१४ चैत, पर्वत । वैदेशिक रोजगारीका लागि राहदानी बनाउन सदरमुकाम कुश्मा आउँदै गरेका गाडीमै लुटिएका छन् । पर्वतको वहाकीठाँटी-३ का खिमप्रसाद भट्टराई नारायणगढबाट बागलुङ-बेनी आउँदै गरेको रात्री बसमै लुटिएका हुन् ।
लुटेराले उनलाई जुस खुवाई बेहोस बनाएर तीस हजार नगद सहित पर्स लुटेर लगेको उनका ससुरा छायादत्त न्यौपानले बताए । बागलुङमा नाता भेट्न भन्दै रात्रीबसमा उनीसँगै यात्रा गरिरहेका अपरिचित युवाले दिएको जुस खाएर बेहोस भएपछि आफूलाई लुटेको भट्टराईले बताए ।
‘नचिनेको मान्छेले दिएको जुस खाँदा मलाई बर्बादै बनायो ।’ उनले चिन्तित हुँदै भने । रात्रीबसमा ‘वी’ साइटको तीन नम्वर सिटमा बसेका भट्टराईलाई कुश्मामा आफूलाई कसरी झारियो, कसले झार्यो भन्ने केही पत्तो नभएको बताउँछन् ।
विहिबार साँझ होस खुलेपछि मात्र आफू लुटिएको कुरा उनले पत्तो पाए । लुटिएका भट्टराईलाई जिल्ला प्रहरी कार्यालयको गाडीले शिवालयचोकबाट पर्वत जिल्ला अस्पताल लगी भर्ना गरेको थियो ।
प्रहरीले पीडितका आफन्तहरुको खोजी गरेपछि ससुरा न्यौपाने कुश्मा आएर उनको उपचार गरिरहेका छन् । भट्टराई हाल पनि पूर्ण ठीक भइसकेका सकेका छैनन् भने राहदानी बनाउन ल्याएको रकमसहित अन्य रकम समेत लुटिएपछि उनी सदरमुकाम कुश्मामा विलखबन्दमा परेका छन् ।
