‘हिम्मतवाली’बाट निर्देशक आउट गरिन रेखाले
अभिनेत्री रेखा थापाले नियमित निर्देशक श्याम भट्टराई विस्थापित गर्दै निर्देशनको बागडोर सम्हालेकी छिन् । निर्देशनको वागडोर सम्हालेको फिल्म ‘हिम्मतवाली’को सुटिङ सेटबाट कुरा गर्दै रेखाले सो कुराको पुष्टि गरेकी हुन् ।
‘सुटिङ सुरु भएदेखि नै श्याम दाइलाई सन्चो थिएन । सुटिङ रोक्न सक्ने अवस्था नभएकाले म आफैंले निर्देशन गर्ने निर्णय गरेकी हुँ,’ रेखाले महेन्द्रनगरको पिप्लारीबाट कुरा गर्दै भनिन् ।
रेखाले अर्को निर्देशक ल्याएर काम गर्दा भट्टराईको अवमूल्यन हुने भएकाले आफैं निर्देशक बनेर फिल्मको काम सकाउन लागिपरेको पनि बताइन् ।
‘फिल्मको कथा तथा परिकल्पना पनि मेरै हो । दर्जनौं फिल्ममा काम गरेको अनुभव छ । त्यही अनुभव प्रयोग गरेर फिल्ममा श्यामदाइको कमि पूरा हुन दिन्न,’ रेखाले भनिन् ।
निर्देशक भट्टराईसँग झगडा परेर निर्देशनमा फेरबदल नभएको उनको तर्क थियो । ‘म अर्काको काममा दखल दिने मान्छे होइन । अर्काको काममा दखल दिने भए निर्देशकले यति धेरै फिल्म खेलाउने थिएनन् । श्याम दाइको स्वास्थ्य बाहेक अरु कुनै समस्याले उहाँले फिल्म छाड्नु भएको होइन,’ रेखाले तर्क गरिन् ।
रेखाले बिरामी भएको कारणले श्याम भट्टराईले ‘हिम्मतवाली’ छोडेको भनेपनि निर्देशक श्याम भट्टराईसँग सम्पर्क गर्दा उनले भने यो विषयमा तत्काल केही नबोल्ने बताए ।
‘ मैंले रेखासँग एउटा सहमतिमा फिल्म छाडेको हो । त्यो सहमति समय आएपछि बताउनेछु,’ भट्टराईले भने । उनले रेखाले भने जसरी कामै गर्न नसक्ने गरि बिरामी नभएको भने संकेत गरे । ‘म अहिले तपाईंसँग बोलिरहेको छु । मेरो स्वर सुनेर अनुमान गर्न सक्नुहुन्छ म कति बिरामी छु वा छैन,’ भट्टराईले भने ।
सुदूरपश्चिम महेन्द्रनगरको पिप्लारी भन्ने ठाउँमा सुटिङ भईरहेको फिल्मको ३५ प्रतिशत सुटिङ सकिईसकेको र बाँकी सुटिङ सकेर टोली १५ दिन पछि काठमाडौं फर्कने रेखाले जानकारी गराइन् ।
रेखा र भट्टराईको कुरा सुन्दा दुवैले कुरा चपाईरहेको संकेत पाईन्छ । विगतमा पनि सुटिङस्थलबाट निर्देशक फेरबदल भएका थुप्रै उदाहरण छन् । तर ‘हिम्मतवाली’ को निर्देशक फेरबदलको दृश्य पटाक्षेप सबैको चासोको विषय रहने निश्चित छ ।
