दाहालले अब नेतृत्व छाड्नैपर्छः भट्टराई
आफ्नो समूहका जिल्ला संयोजकहरुको छुट्टै भेला डाकेर एमाओवादी नेता बाबुराम भट्टराईले पार्टी अध्यक्ष पुष्पकमल दाहालसमेतले पदत्याग गर्नुपर्ने प्रस्ताव राखेको खबर आजको अन्नपूर्णमा रेवती सापकोटाले खबर लेखेका छन्।
उनले समूहगत भेला डाकेको थगाहा पाएपछि अर्को पक्ष आक्रोशित बनेको छ। पार्टी प्रवक्ता दीनानाथ शर्माले गुटबन्दीलाई पार्टीभित्रको रोगको संज्ञा दिए।
' एकातिर गुट अन्त्य गर्ने भन्ने अर्कोतिर भेला गर्दै हिड्नुले पार्टीलाई राम्रो गर्दैन,' शर्माले भने,' गुटबन्दी सबै पार्टी भित्रको रोग हो। त्यस्तो रोग हाम्रो पार्टीभित्र पनि देखियो। यसले पार्टीलाई राम्रो गर्दैन।'
नेता नारायणकाजी श्रेष्ठले भट्टराईको छुट्टै भेलाबारे अनभिज्ञता प्रकट गरे। उनले अन्नपूर्णसँग भने, 'मलाई थाहा छैन, थाहा नपाएको विषयमा के टिप्पणी गर्नु? त्यस्तो छुट्टै भेला नगरेको हुनुपर्ने हो।'
भट्टराईले आफूले गुटगत भेला नगरेको भेलामा प्रस्ट्याउने प्रयास गरेका थिए। 'यो भेटघाट हो, गुटगत छलफल होइन, पार्टी संकटमा परेका बेला कसरी जीवन्तता दिने भन्नेमा हामीले पनि मेहनत गर्नुपर्छ', भट्टराईलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'तपाईंहरूमार्फत तलको अवस्था बुझौं र मेरा धारणा पनि तपाईंहरूसँग राखौं भनेर बोलाएको हुँ। यसलाई गुटगत ढंगले तलसम्म लैजान जरुरी छैन।'
भेलामा सहभागी एक नेताका अनुसार भट्टराईले सांगठनिक नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने साहस अध्यक्ष दाहालबाट सुरु गर्नुपर्ने बताएका थिए। सांगठनिक नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरेर मात्र पार्टीलाई सुल्टो गतिमा ल्याउन सकिने उनको तर्क थियो। उनले वैचारिक नेतृत्व भने आफूसहित अध्यक्ष दाहाल, नेताद्वय श्रेष्ठ र पोस्टबहादुर बोगटीमा वैचारिक नेतृत्व कायम राख्नुपर्ने बताएका थिए।
आफू निकटका नेता र जिल्ला संयोजकहरूलाई भट्टराईले आइतबार आफ्नै निवास सानेपामा बोलाएर भेला गरेका थिए। भेलामा टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, गंगानारायण श्रेष्ठ, खगराज भट्टलगायतका सहभागी थिए।
उनले वैचारिक बहसका आधारमा सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने गरी राष्ट्रिय सम्मेलन गर्नुपर्नेमा जोड दिएका थिए। केन्द्रीय समितिले वैशाख १८ गते संगठनात्मक राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।
भट्टराईले नेतृत्व हस्तान्तरण गर्दा अध्यक्षमण्डल बनाएर चक्रीय प्रणाली अवलम्बन गर्न सकिने विकल्प पनि प्रस्तुत गरेका थिए। 'वैचारिक प्राधिकार हामीमा राखौं, सत्ता, शक्ति र पैसामा हामी नमुछिऔं', आफूले अध्यक्ष दाहालसमक्ष राखेको भनाइ उद्धृत गर्दै भट्टराईले भनेका थिए। दाहालले वैचारिक पक्षलाई गौण र संगठनात्मक पक्षलाई प्रधानता दिएको आरोप पनि भट्टराईले लगाएका थिए।
http://setopati.com/
