काठमाडौं, चैत १३ – अहिलेको अवस्थामा चलिरहेका अभिनेता आर्यन सिग्देल र जीवन लुइँटेललाई अहिलेका फिल्म बजारमा भ्याइनभ्याइ छ । यी दुई अभिनेताहरुको दैनिकी सुटिङ स्थलमा नै बित्ने गर्दछ । रजतपटका व्यस्त यी दुई अभिनेताको बजार भाऊ चाहीँं कति छ होला सायद सबैलाई चासोको विषय होला ।
शुरुवातदेखि आर्यन सिग्देलले अन्य नायकभन्दा धेरै लिने गरेको थिए । उनको तुलनामा जीवन लुइँटेलको पारिश्रमिक कम थियो । आर्यन मुख्य अभिनेता हुँदा जीवन सहायक भूमिकामा देखिन्थे । दुवैले करियरको शुरुवात गर्दा अभिनय गरेको चलचित्र ‘मेरो एउटा साथी छ’ मा आर्यन मुख्य भूमिकामा काम गर्दा त्यही चलचित्रमा जीवन सहायक भूमिकामा थिए । त्यसभन्दा पहिले आलोक नेम्बाङ्गको सानो संसारमा पनि उनी सहायक भूमिकामा नै थिए । तर पछिल्लो समय पारश्रमिक यी दुई अभिनेताको फिल्म जार भाउ बुझ्दा जीवनले आर्यनलाई उछिनेका छन् । निर्माताहरुले आर्यनको भाउ घटाइदिएका छन् भने जीवनको भाउ भने बढाएका छन् । छायाँकन भइरहेको फिल्म ‘नाइके’का लागि आर्यनले चार लाख रुपैयाँको हाराहारीमा लिँदा जीवनले भने फिल्म ‘ठूली’का लागि साढे चार लाख रुपैयाँ पारिश्रमिक रकम लिएको बताइन्छ । रेखा थापासँगको ‘किस्मत’, ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’ फिल्ममा लगातार चलेपछि आर्यनले आफ्नो बजार भाउ ह्वातै बढाएका थिए । ‘किस्मत’ फिल्मबाट बिना पारिश्रमिक रजतपटमा डेब्यु गरेका उनले फिल्म ‘मेरो एउटा साथी छ’ फिल्मका लागि पहिलो पटक ७५ हजार रुपैयाँ पारिश्रमिक रकम लिएका थिए । सुटिङ लम्बिन पुगेपछि निर्माताले उनलाई थप ५० हजार रुपैयाँ थपिदिएका थिए । ‘मेरो एउटा साथी छ’पछि आर्यनको पारिश्रमिक मूल्य आकाशिएको थियो । फिल्म ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘धुँवा यो नशा’ मा ८ लाख रूपैंयाँ पारिश्रमिक लिएका आर्यनले ‘नाइके’मा आएर आफ्नो रेट घटाउनुले उनको बजार भाऊ घटेको बुझिएको छ । आर्यनको मुख्य भूमिका रहेको फिल्म ‘मेरो एउटा साथी छ’मा सहायक भूमिका निभाएका जीवनको बजार भाऊ भने फिल्म ‘अन्दाज’ र ‘नाइ नभन्नु ल’बाट बढेको हो । ‘सिम्पल सिम्पल कान्छी’ र ‘नाइ नभन्नु ल’ बोलको गीतबाट दर्शक माझ ‘नोटिस’ भएका जीवनले डेव्यु फिचर फिल्म विकास आचार्यको ‘नसिब आफ्नो’ फिल्ममा बिना पारिश्रमिक खेलेका थिए । ‘अन्दाज’मा उनले १ लाखको हाराहारिमा पारिश्रमिक रकम लिएको बताइन्छ । मालतीको भट्टी’, ‘नोटवुक’ जस्ता फिल्मले जीवनको पारिश्रमिक मूल्य ह्वात्तै बढाइदियो । मिस्टर नेपाल, भिजे र मोडलिङ हुँदै फिचर फिल्ममा प्रवेश गरेका जीवनले वर्तमान फिल्म बजारका निर्माताबाट एउटा फिल्म खेले वापत कम्तीमा ३ लाख रुपैयाँ लिने गरेका छन् । नेपाली नयाँ वर्ष चैत २८ गने प्रदर्शन हुने फिल्म ‘नाइ नभन्नु ल २’ र पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘स्टुपिड मनले’ ले जीवनको बजार भाउ अझै बढाउने अनुमान छ ।
आर्यन सिग्देल र जीवन लुइँटेलको बजार मुल्य कति ?
news and entertainment
