दरबारमार्गको होटलमा देखिएको दृश्य (फोटोफिचर सहित)
साँझले स्वागत गर्दैछ । दरबारस्थित याक एण्ड यती होटलमा उरिन्ठेउला ठिटाठिटीको जमघट बाक्लिदो छ । बाहिर गर्मीको पारो घट्दैछ तर भित्र होटलमा संगीतमा झुम्नेहरुको पारो बढ्दैछ । हिन्दी गीतको धुनमा शरीरलाई ‘नागबेली’ चालमा ढालिरहेका युवायुवतीलाई जेहोस् न, बाल मतलब !
बोल्न र सुन्न नसक्ने, फोहोरी पहिरन लगाएको एउटा युवक यही माहोलमा मिसिन आइपुग्यो । उसको सहभागिता सहज किसिमको थिएन । दायाँबायाँ संगीतको तालमा झुमेका युवायुवतीहरूलाई वेवास्ता गर्दै ऊ कुनामा रहेको साउण्ड बक्समा गएर ठोकियो । साउण्ड बक्सबाट निस्केको ध्वनीले भने उसलाई ठोकेको महसुस भयो ।
संगीत सुन्न नसक्ने त्यो ठिटोलाई साउण्ड बक्सबाट निस्केको ध्वनीले भने फरक अनुभुती दिलायो । उसलाई लाग्यो, जुन ध्वनीले उसलाई ठोकिरहेको छ त्यहि ध्वनीको तालमा उपस्थित तन्नेरीहरू हल्लिरहेका छन् । उसलाई रमाईलो लाग्यो, हल्लिन थाल्यो ।
भागेर कसैको साहारा खोज्दै आएको जस्तो देखिने त्यो युवकमाथी केहि गुण्डा जस्तो देखिने ठिटाहरूले आँखा गाडिरहेका छन् । लाग्छ, यो माहोलमा केहि गडबड हुनेवाला छ । सोचे जस्तै भयो, तिनै गुण्डाहरूको भिडबाट एउटा गुण्डा निस्कियो । साउण्ड बक्सबाट निस्केको ध्वनीको चालमा झुमिरहेको त्यो अनाथ लाग्ने ठिटोको गर्धनमा त्यो गुण्डाले ‘चिलले चल्ला समाए’ झैं समात्न पुग्यो र घिसारेर लग्यो ।
कतैबाट स्वर सुनियो, ‘कट्’ ।
वास्तविक जस्तो लाग्ने यो दृश्य फिल्म ‘लभ सब’का लागि नाटक चल्दै थियो । बोल्न र सुन्न नसक्ने युवकको भूमिकामा कलाकार संयम पुरीले अभिनय गर्दै थिए । निर्देशक देवकुमार श्रेष्ठले संयम सहित सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ लगायतका कलाकारलाई हाल काठमाण्डौं आसपासका क्षेत्रमा अभिनय गराइरहेका छन् ।
वास्तविक जस्तो लाग्ने यो दृश्य फिल्म ‘लभ सब’का लागि नाटक चल्दै थियो । बोल्न र सुन्न नसक्ने युवकको भूमिकामा कलाकार संयम पुरीले अभिनय गर्दै थिए । निर्देशक देवकुमार श्रेष्ठले संयम सहित सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ लगायतका कलाकारलाई हाल काठमाण्डौं आसपासका क्षेत्रमा अभिनय गराइरहेका छन् ।
युवापुस्ताको कथामा आधारित ‘लभ सब’ मा सुशिल पोखरेल र नरेन्द्र महर्जनको लगानी छ । कृष्ण श्रेष्ठको छायाँकन रहेको यो फिल्मको कथा साम्तेन भुटियाले लेखेका हुन् । फिल्मको छायाँकन यसै साता सकिंदैछ ।
