मलेसियामा एक वर्षमै ३४६ जना नेपालीको मृत्यु

१६ चैत, मलेसिया । सुनौलो सपना बोकेर मलेसिया आएका टंकिसिनवारी ७ मोरङका चनकलाल यमीको सपना वीचैमा तुहियो । मलेसिया आएको सात महिनामै उनी सुतेको सुत्यै भए । उनी मुहारको एक फर्निचर कम्पनीमा कार्यरत थिए । दुई छोरा एक छोरीलाई यतिबेला उनको श्रीमतीले निकै दुःखका साथ पालिरहेकी छन् ।
नौ महिनाअगाडि मात्रै मलेसिया आइपुगेका कपिलवस्तुका सुरेश थापा मगरको पनि मलेसियामै ज्यान गयो । सामान्य बिरामी भएका उनको उपचार हुँदाहुँदै मृत्यु भएको थियो । यतिबेला थापाको परिवार पनि शोकमा डुबेको छ ।

तीन वर्ष अगाडिदेखि जोहोरको जेसिवाई कम्पनीमा कार्यरत पिप्ले गाविस वडा न १ प्रतापपुरका ३६ वषिर्य हरि भण्डारी पनि दिनभरी काम गरेर खाना खाएर सुतेका थिए । भोलिपल्ट काम गर्न जानेवेलामा उठाउन थाल्दा उनी पनि सुतेको सुत्यै प्राण त्यागेका भेटिए ।

चमकलाल, सुरेश र हरि भण्डारी प्रतिनिधिपात्र मात्र हुन । मलेसियामा रोजगारीमा रहेका करीव सात लाखमध्ये सन् २०१३ मा मात्रै ३ सय ४६ जनाको मृत्यु भएको छ । एक वर्षमा ३ सय ६५ दिन हुने गरेकोमा ३ सय ४६ जनाको मृत्यु विदेशमा हुनु निकै दुखदायी हो । दैनिकजसो कम्तिमा एकजना नेपालीको मलेसियामा मृत्यु हुने गरेको यो तथ्याङकले देखाएको छ ।

बढ्दो आत्महत्या

सन २०१३ मा ३९ जना नेपालीहरुले आत्महत्या गरेका छन । दशैं र तिहारको समय अवधिमा यो सख्या उच्च रहेको छ । चाडपर्वका बेलामा घर जान नपाउनु र जोतिएर काम गर्नुपर्ने भएका कारणले निराश भएको कारणले यो बेलामा आत्महत्या गर्ने क्रम बढेको अनुमान गरिएको छ ।

 दुर्घटना

यसैगरी सडक दुर्घटनामा परेर पनि मलेसियामा ३० जना नेपालीको मृत्यु भएको छ । अधिकांशको सडक पार गर्ने क्रममा विपरीत दिशाबाट आएको सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको छ । यसैगरी विभिन्न रोग लागेर ३० जनाले ज्यान गुमाएका छन् ।

कम्पनीभित्र काम गर्दा गर्दै मृत्यु हुनेको सख्या ११ रहेको छ भने अन्य विभिन्न कारण, जस्तै सुतेको सुत्यै हुने, चक्कर लागेर बसेकै ठाउँमा मृत्यु हुने, बसबाट खसेर, लडेर लगायतका कारणले मृत्यु हुनेको सख्या १ सय ६६ रहेको छ ।

सबैभन्दा बढी मार्च र अक्टोवर महिनामा ३९/३९ र सवैभन्दा कम जनवरी महिनामा १८ जनाको मृत्यु भएको नेपाली दुतावासको तथ्याङकमा देखिएको छ ।

,

news and entertainment