अख्तियारद्वारा वैदेशिक रोजगार विभागका कर्मचारीविरुद्ध मुद्दा दायर

अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा वैदेशिक रोजगार विभागका कर्मचारी तथा विचौलियाको काम गर्नेहरू विरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले विभागका निर्देशक चिरञ्जीवि अधिकारी, शाखा अधिकृत कुमारप्रसाद पोखरेल, नायब सुब्बा लक्ष्मीप्रसाद ढुङ्गाना र कम्प्युटर अपरेटर सञ्जीव नेपालविरुद्ध रु १८ लाख ९० हजार माग दाबी लिई आज विशेष अदातलमा मुद्दा दायर गरेको हो ।

अभियुक्तहरूले गत माघ ३ गते वैदेशिक रोजगारीका क्रममा दुबई जाने ६३ जनाबाट गलत कागजातहरूको आधारमा श्रम स्वीकृति प्रदान गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग गर्दै आयोगले उक्त अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्रीधर सापकोटाले बताउनुभयो ।

त्यसैगरी, विचौलियाको काम गर्ने भिजन एण्ड भ्यालु ओभरसिजका श्रम प्रतिनिधि अनिल पन्थीलाई बिगो रु एक लाख ८९ हजार कायम गरी हदैसम्मको सजाय र सञ्चालनको अनुमति नलिई किट्स इम्प्लोइमेन्ट प्रालिको लेटर हेड, छाप र सञ्चालकको दस्तखतसमेत आफैंले गरी पूर्व स्वीकृति निकाल्ने ¥यापिड इन्टरनेशनल प्रालि बत्तीसपुतलीका श्रम प्रतिनिधि पुष्पराज लामिछानेमाथि समेत सोही ऐनबमोजिम सजायको माग गर्दै उक्त अदालतमा आरोपपत्र दायर गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै कतार जान लागेका १०९ जनाबाट गत पुस ९ गते गलत कागजातहरूको आधारमा श्रम स्वीकृति प्रदान गर्ने कार्यमा संलग्न रहेका वैदेशिक रोजगार विभागका निर्देशक चिरञ्जीवि अधिकारी, शाखा अधिकृत कुमारप्रसाद पोखरेल, नायब सुब्बा भीमबहादुर बस्नेत र कम्प्युटर अपरेटर सुशील शाक्यलाई बिगो रु. ३२ लाख ७० हजार माग दाबीका साथ मुद्दा दायर गरिएको छ ।

,

news and entertainment