६ चैत, काठमाडौं । सरकारले व्यवस्थापिका संसदलाई छलेर पत्रकार सम्मेलनमार्फत न्यूनतम साझा कार्यक्रम घोषणा गरेको भन्दै सभामुख सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री सुशील कोइरालासमक्ष कडा आपत्ति जनाएका छन् ।
‘संसद चलिरहेका बेला पत्रकार सम्मेलन गरेर नीति तथा कार्यक्रम सार्वजनिक गरियो, के संसदलाई सरकारले हेप्न खोजेको हो प्रधानमन्त्रीज्यू ?’ सभामुख नेम्वाङले प्रधानमन्त्रीलाई सोधेको प्रश्न उधृत गर्दै संसद सचिवालय स्रोतले अनलाइनाखबरसँग भन्यो, ‘संसदलाई छलेर पत्रकार सम्मेलनमार्फत नीति कार्यक्रम ल्याउनु सरकारको ‘ब्लन्डर’ हो ।’
साझा कार्यक्रममा सभामुखको ‘रिजर्भेसन’
संसदीय व्यवस्थामा सरकारले केही भन्नुपर्ने भए व्यवस्थापिका संसदमार्फत जनतालाई सुनाउनुपर्ने भन्दै सभामुख नेम्वाङले प्रधानमन्त्री कोइरालालाई सम्झाएको स्रोतले बतायो । बुधबार दिउँसो प्रधानमन्त्री, मन्त्रीहरु, सभामुख, दलका शीर्ष नेता एवं सभासदसमेत रहेका ठाउँमा सभामुख नेम्वाङले सार्वजनिक रुपमै प्रधानमन्त्री कोइरालालाई थर्काएका थिए ।
सभामुख नेम्वाङले सरकारद्वारा घोषणा गरिएको न्यूनतम साझा कार्यक्रमप्रति आफ्नो ‘रिजर्भेसन’ रहेको बताउँदा प्रधानमन्त्री कोइराला नतमस्तक देखिएका थिए । ‘नेम्वाङले आपत्ति जनाएपछि प्रधानमन्त्रीले ‘यस्तै भैहाल्यो’ भन्दै लाचारी प्रकट गरेको सचिवायलका एक कर्मचारीले अनलाइनखबरलाई बताए ।
सरकारका प्रवक्ता डा. मिनेन्द्र रिजालले सिंहदरबारको हर्क गुरुङ हलबाट मंगलबार दिउँसो २ बजे साझा न्यूनतम कार्यक्रम पढेर सुनाएका थिए । त्यसबेला चल्दाचल्दै गरेको व्यवस्थापिका संसदको बैठक रोकिएको थियो । धेरै सभासदले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको साँझ मात्रै थाहा पाएका थिए ।
‘सरकारले जे भन्नु पर्ने हो संसदबाटै भन्नुपर्छ, विदेश जाँदा पनि संसदमा बोलेर जानुपर्छ, आउँदा पनि संसदलाई जवाफ दिनुपर्छ’ सभामुखले प्रधानमन्त्रीलाई भनेको उधृत गर्दै स्रोतले भन्यो, ‘संसद चलिरहेका बेला पत्रकार सम्मेलन गरेर संसद बाहिरबाट सभासदले समेत थाहापत्तो नपाउने गरी नीति कार्यक्रम वा न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने त्यस्तो जरुरी कारण के पर्यो प्रधानमन्त्री ज्यू ?’
एयरपोर्टमै हप्काएका थिए सभामुखले
प्रधानमन्त्री सुशील कोइरालाले सभामुख नेम्वाङको हप्काइ खाएको यो पहिलोचाहिँ होइन । बिमस्टेक सम्मेलनमा भाग लिन म्यानमार जाने क्रममा पनि प्रधानमन्त्रीले एयरपोर्टमै सभामुखको हप्काइ खाुनपरेको थियो । ‘तपाई यसरी संसदमा नबोली विदेश जान मिल्दैनथ्यो, अबदेखि संसदलाई भनेरमात्रै जानुपर्छ, फर्केर आएपछि सदनलाई जवाफ दिनुहोला’ सभामुखले प्रधानमन्त्रीलाई एयरपोर्टमा विदाइ गर्न जाँदा भनेका थिए ।
तर, हरेक कुरामा ढिलाइ गर्ने प्रधानमन्त्रीले बिमस्टेकबाट फर्केर धेरै दिनपछि बासी सम्बोधन गरे । यसरी सदनलाई ढीलो जनकारी दिएकोमा पनि नेम्वाङ प्रधानमन्त्रीसँग रुष्ट भएको स्रोतले बतायो ।
नेपालको अन्तरिम संविधानले मन्त्रिपरिषद सामुहकि रुपमा र प्रधानमन्त्री व्यक्तिगत रुपमा व्यवस्थापिका संसदप्रति उत्तरदायी हुने व्यवस्था गरेको नेम्वाङले प्रधानमन्त्रीलाई स्मरण गराएको स्रोतले बतायो ।
अर्थमन्त्री महत पनि सदनलाई केही नभनी विदेश गए
विदेश जानुपर्ने भए जाँदा वा आउँदा सदनलाई जानकारी दिनुपर्छ भनिए पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनमा सरकारको जवाफ मागिएकै दिन अर्थमन्त्री डा. रामशरण महत सुटुक्क ब्रसेल्सतिर लागेका छन् ।
सभामुखले सोधे- संसदलाई हेपेको हो प्रधानमन्त्रीज्यू ?
news and entertainment