सरकारी गाडी जलाउने विद्यार्थी
मलाई तिथिमिति सितिमिति याद हुन्न, इतिहासमा रुचि छ, त्यसैले घटनाक्रम याद हुन्छ, फेरि मिति सम्झन नसक्दा फेल खान्छु। यो घटना सन् २००८ डिसेम्बर महिनाको हो। तिनताक म रेडियो उत्पादनको काम गर्थें। रेडियो सुन्नु मेरो सानैदेखिको बानी थियो, स्कुले र कलेज जीवनको सबैभन्दा भरपर्दाे साथी भनेको रेडियो नै भयो (अरु साथीहरु क्ताकता पुगे तर रेडियोले अझै आफ्नै धर्म छाडेको छैन, परेको बेलामा साथ दिएर)। त्यही साथीले मलाई रोजीरोटीको मेसो पनि मिलायो, पत्रकारिताको एक कक्षा नपढे पनि रेडियो उत्पादनमा जेनतेन लागिरहेकै थिएँ। 
कुनै कार्यक्रम उत्पादनको सिलसिलामा एचआईभी संक्रमित पुरुष र महिलासँग अन्तर्वार्ता लिन पुग्नु थियो महाराजगन्ज। १ बजे पुग्छु भनेको थिएँ, एचआईभी संक्रमितको हकहितको क्षेत्रमा काम गर्ने संस्था नेपानमा। १२ बजे निस्किएँ, पुल्चोकबाट। पुल्चोक इन्जिनियरिङ कलेज अगाडि तनाव थपिँदै थियो, जसोतसो गइयो थापाथली पुलसम्म। त्यहाँबाट अघि जान कुनै ट्याक्सीले मानेनन्। म लुखुरलुखुर अघि बढें, थापाथाली इन्जिनियरिङ कलेजअघि पुग्दा भागाभाग थियो, मानौं कि कतै आगो लागेर त्यसबाट बच्न भागिरहेछन् मानिसहरु र गाडीहरु। अझै अघि बढेँ, दुईवटा सरकारी गाडी, एउटा सानो पिकअप जस्तो गाडी र अर्काे अलि पुरानो गाडी आधा जलिरहेका थिए। त्योसँगै नेविसंघको झण्डा बोकेर केही विद्यार्थी नारा लगाइरहेका थिए, इन्जिनियरिङको विद्यार्थीले जलाएको गाडी देखेर मलाई किन र के कारणले बन्द गरेको भन्नेतिर कुनै चासो गएन। केवल हेरिरहेँ गरिब जनताले तिरेको करले किनेको बिसौं लाख पर्ने जलिरहेका गाडीहरु।
त्यसपछि एउटा सेतो र हेर्दा एकदमै नयाँ लाग्ने प्राडो नजिकै आयो, त्यसलाई फेरि झण्डा बोकेका केही युवाले रोके र चाबी खोसे। ड्राइभरलाई हप्कीदप्की लाएपछि डा«इभर त्यहाँबाट उग्र विद्यार्थीलाई गाडी जिम्मा लगाएर भागे।
ड्राइभर भागेपछि अगाडि उभिएको एउटा विद्यार्थीले झण्डा बोकेर नारा लगाइरहेको अर्काे विद्यार्थीसँग सलाई माग्यो, उसले अर्काेलाई बोलायो, त्यो अर्काे विद्यार्थी जिन्सको पाइन्टको गोजी छामछुम गरेर सलाईको बट्टा खोज्दै थियो। मैले आँखाअगाडि दुईवटा गाडी जलिरहेको देख्दै थिएँ, अबको केही क्षणमै करोड पर्ने नयाँ प्राडो पनि जल्न गइरहेको थियो। उता एउटा इन्जिनियर विद्यार्थी त्यो नयाँ प्राडोको टायरमा आगो बाल्न लागिरहेको थियो, त्यत्तिबेलासम्म मैले १०० नम्बरमा फोन गरेर प्रहरीलाई खबर गर्न भ्याइसकेको थिएँ, ‘थापाथली क्याम्पसको ठिक अगाडि एउटा सेतो गाडीमा आन्दोलन गरिरहेका विद्यार्थीले आगो लगाउन लागेका छन्, तुरुन्त आउनुपर्यो।’ उताबाट सहज तरिकाले जवाफ आयोे, ‘हुन्छ।’
जवाफ त हुन्छ आयो तर प्रहरी आइपुगेको थिएन, यता विद्यार्थीहरु सलाई कोरेर आगो बाल्न खोज्दै थिए, सम्भवत पाइन्टको गोजीमा राखेको त्यो सलाईको बट्टा पसिनाले भिजेको थियो, सजिलै आगो बलिरहेको थिएन। २—३ मिनेट त्यस्तै भैराख्यो, सलाई कोरिरहेको विद्यार्थी केटो करायो, ‘कसैसँग लाइटर छैन, सलायो सलाई बल्दै बलेन यार।’ मैले फेरि फोन गरें १०० मा र भनेँ, ‘गाडी जल्न लागिसक्यो, थापाथली क्याम्पसअघि छिटो पठाउनुपर्यो।’ उताबाट उस्तै सजिलोसँग जवाफ आयो, ‘खबर भैसक्या छ, माइतीघरमा भएको टोली आउँदैछ।’
टोली देखा परिसकेको थिएन, उता उग्र विद्यार्थी टोली दुईवटा गाडी जलाएर तेस्रो गाडी जलाउने ध्याउन्नमा थियो। एउटाले लाइटर र मिनरल वाटरको बोतलमा सम्भवत पेट्रोल या मट्टितेल लिएर कुद्दै आयो, त्यत्तिनै बेला माइतिघरबाट दंगा प्रहरीको करिब २५ जनाजतिको टोली पनि कुद्दै आउँदै गरेको देखियो। झण्डा बोकेको विद्यार्थी करायो, ‘ए, पुलिस आउन लाग्यो केटा हो, छिटो अगो लगा।’ टायरमा सानो आगो लाग्न शुरु गरेको थियो तर दंगा प्रहरीले निभाइहाले। त्यत्तिबेलासम्म त्यो आगो लगाउने नाइके र अन्य विद्यार्थी थापाथली क्याम्पसको गेटमा छिर्न भ्याए। एउटा करायो, ‘थुक्क साला क्या नयाँ गाडी थियो यार, जलाउनै पाइएन।’ त्यसको केही बेरपछि साइरन बजाउँदै दमकल आयो र आधा जलिसकेको गाडी निभाउन थाल्यो।
मेरो पालो फेरि १०० मा फोन गरेँ अनि पुलिस पठाएकोमा धन्यवाद भनें र महाराजगन्जतिर लागें। उताबाट उस्तै सजिलोसँग जवाफ आयो, ‘ठिक छ ठिक नो प्रोब्लम।’
बोलाएको ठाउँमा ढिलो पुग्ने मेरो पुरानै रोग हो, त्यो दिन पनि त्यसै भयो। अन्तर्वार्ता दिन कुरेर बसेका केही महिला र पुरुषले त्यो दिन २ घण्टा कुर्नुपर्यो। सगौरव गाडी जलेको कहानी भनेपछि तिनले पनि खासै माइन्ड गरेनन्। आफूलाई ढिलो पुगेको र केही मानिसलाई कुराएको ग्लानिभन्दा पनि एउटा करोडको सरकारी गाडी जल्नबाट जोगाएकोमा खुशी थियो।
अन्तर्वार्ता लिएर फर्कँदै गर्दा मैले सोचेँ, आज गएर डायरी लेख्छु। तर लेखिन, जुन मेरो स्वभावअनुसार स्वभाविक थियो। केही महिनापछि कोठा मिलाउँदा डायरी देखियो र त्यो डायरी लेख्छु भनेको सम्झिँए र त्यो साँझ यस्तो लेखें।
‘देशका कर्णधार भनिने अझ इन्जिनियरहरु जसले निर्माण गर्छन्, सृजना गर्छन् भन्ने विश्वास गरिन्छ। उनीहरु नै किन नेपाली जनताले सकिनसकी तिरेको करबाट किनिएको करोड पर्ने गाडी जलाउन खोज्छन्?
अझ त्यो विद्यार्थी केटोले थुक्क गाडी जलाउन पाइएन भन्यो, त्यो गाडी जलाउन पाएको भए के हुन्थ्यो? उसको माग पूरा हुन्थ्यो? देशमा केही परिवर्तन आउँथ्यो?
करोड रुपियाँको गाडी किन्न करौडौं नेपालीले पसिना बगाएर सरकारलाई कर तिर्छन्, यता देशको उन्नतिको लागि राजनीति गर्छु भन्ने लोकतान्त्रिक पार्टीको इन्जिनियरिङको विद्यार्थी भने त्यही गाडी आगो लगाउन नपाएकोमा आफैँलाई धिक्कार्छन्। धिक्कार ती झण्डा बोकेर आफ्नो विवेक बोक्न बिर्सने विद्यार्थीहरुलाई।’
छोटो डायरी लेखिसकेपछि माथि मिति लेख्न खोजें, सन् २००८ डिसेम्बर महिना गते सम्झना भएन त्यसैले लेखें ‘पछि सम्झेर लेख्ने।’ त्यो कति गते हो मलाई याद छैन तर इन्जिनियरिङको विद्यार्थीले गाडी जलाएको, नयाँ जलाउन खोजेको र आफूले जल्नबाट बचाएको घटना कहिले बिर्सन सकिन्न।
शायद ती आगो लगाउने विद्यार्थी अहिलेसम्म इन्जिनियर भैसके होलान्, अझ विद्यार्थी राजनीतिबाट तरुण राजनीतिमा प्रवेश गरे होलान्। तिनलाई सरकारी गाडी जलाएकोमा कत्तिको विस्मात् लाग्दो हो?