जन्मदिनमा खुसी साट्दै झरनाले के भनिन् ?

दर्जनौं हिट फिल्म दिएर दर्शकमाझ आफ्नो राम्रो छाप छोड्न सफल अभिनेत्री झरना थापा ३५ बर्ष पूरा भएकी छिन् । आज बिहिबार झरनाले आफ्नो जन्मदिन सेलिब्रेट गर्नेछिन् । सर्वप्रथम झरनालाई फिल्मीखबर डट कमको तर्फबाट जन्मदिनको शुभकामना !

फिल्म 'धर्मसंकट'बाट हिरोइनको रूपमा उदाएकी झरना नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री हुन् । श्रीमान सुनिल कुमार थापासँगको सहकार्यमा आफ्नै होम प्रोडक्सनबाट थुप्रै सफल फिल्म निर्माण गरेकी झरनाले दर्जनौं हिट फिल्म दिएर ठूलो सफलता पाईसकेकी छिन् । आधा दर्जन भन्दा बढि अवार्ड समेत पाएकी झरना अब भने निर्देशनमा सफल हुने दौडमा छिन् ।

'अभिनेत्री भएर दर्शकको मन जितिसकें । अब निर्देशक भएर दर्शकको मनमा बस्न चाहन्छु,' झरनाले छिट्टै नै निर्देशन गर्ने कुरा खोल्दै भनिन्, 'अबको मेरो यात्रा निर्देशनतिर हुनेछ ।' होम प्रोडक्सनबाट तीन महिना भित्रमा सुटिङमा जानेगरी फिल्म निर्माण गरेपश्चात निर्देशनको यात्रा तय गर्ने झरनाले खुलाइन् ।

'सुनिलजी (श्रीमान) को इच्छा मैले लभस्टोरी फिल्म निर्देशन गरूँ भन्ने छ । उहाँसहित मेरो इच्छा पनि लभस्टोरी फिल्म भएकाले निर्देशकको यात्रा लभस्टोरीबाट गर्ने योजना छ,' झरनाले बताईन् । उनले अब निर्माण हुन लागेको होम प्रोडक्सनको फिल्ममा सशक्त नारीको भूमिका निर्वाह गर्ने बताईन् । भनिन्, 'यो फिल्ममा म नाच्ने, लभ गर्ने केटी भएर देखिने छैन ।' बर्षमा कम्तिमा एउटा फिल्म निर्देशन गर्ने उनको योजना छ ।
 
आफू निर्देशक भएपछि हिरोइनको पूर्ती गर्न छोरीलाई भित्र्याउने बारे केहि नसोचेको बारे झरनाले बोलिन्, 'पहिला उसको पढाई सकियोस् अनि इच्छा व्यक्त गरे फिल्ममा ल्याउछौं । अहिले नै फिल्ममा ल्याउने बारे केहि सोचेका छैनौं ।'
 
१२५ को हाराहारीमा फिल्ममा अभिनय गरेकी झरनाका लागि 'सुख दु:ख', 'हामी तीन भाइ', 'ए मेरो हजुर', 'तकदीर', 'तिमी मात्र तिमी', 'म तिमी बिना मरिहाल्छु' जस्ता फिल्म अविष्मरणिय छन् । असल श्रीमती, असल आमा, असल बुहारी, असल हिरोइन भएर सबैको मन जितिसकेको बताउने झरनाले निर्देशक भएर पनि सबैको मन जित्न सकुन्, शुभकामना !

,

news and entertainment