ट्राफिक नियम पालन गर्नुको साटो राजेश हमालले हात जोडेर ३ पटक माफि मागे
दरबारमार्गमा पार्किङ गर्ने स्थान नभेटेपछि सडकमै मोटर छाडेर हिँडेका नायक राजेश हमाल मंगलबार ट्राफिक प्रहरीको फन्दामा परेका छन्।
उनी आफू अभिनित चलचित्र 'हँसिया'को म्यूजिक लन्च कार्यक्रममा सहभागी हुनका निम्ति साँझपख त्यहाँ पुगेका थिए। कार्यक्रममा ढिलो भइसकेका बेला दरबारमार्गमा कतै पनि पार्किङ स्थल नभेटेका उनी सडकमै मोटर छाडेर हिँडेका थिए।
पार्किङका निम्ति ट्राफिक प्रहरीले चिन्ह लगाएको घेराभन्दा बाहिरै मोटर रोकिएपछि हटब्रेड अगाडिको उक्त स्थानमा बाटो साँघुरो बन्न पुगेको थियो। त्यसलगत्तै सिट्टी बजाउँदै आएको प्रहरीले सोधखोज सुरु गरेपछि हमाल सडकमा आएका थिए।
'हमालले तीन पटक सरी भनेर माफी माग्नुभयो,' दरबारमार्ग ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेँथु भन्छन्, 'आइन्दा मबाट यस्तो गल्ती हुँदैन भनेर कबुलेपछि छाडिदियौं।'
हाछेँथुका अनुसार हमालबाट यसअघि ट्राफिक नियम उल्लंघन भएको रेकर्ड छैन। पहिलो पटक यस्तो गल्ती भएका कारण पनि उनको व्यक्तित्वलाई ध्यानमा राखेर एकपटकलाई छाडिदिएको उनले बताए।
'बरु नेपाली सिनेमाकै अर्का नायक भुवन केसीले धेरैपटक ट्राफिक नियम उल्लंघन गर्नुभएको छ,' हाछेँथु भन्छन्, 'तीनपटक त मैले नै कारबाही गरेको छु।'
काठमाडौं महानगरपालिकाले सहरभरिको पार्किङ निःशुल्क गरेपछि शुल्क उठाएर पार्किङलाई व्यवस्थित पार्दैआएकाहरु सडकबाट हराएका छन्। 'त्यसको सबैभन्दा बढी प्रभाव दरबारमार्गमा परेको छ,' हाछेँथु भन्छन्, 'उनीहरुले व्यवस्थित पार्दा ७८ वटा गाडि अटाउँदै आएको यो स्थानमा अहिले ४२ वटा गाडि पनि अट्दैन।'
सडकमा पार्किङ गरेवापत शुल्क बुझाउनु नपरेपछि यतिबेला वरपरका बैंक कर्मचारीदेखि लिएर ठमेलका व्यापारी सम्मले विहानै मोटर ल्याएर दरवारमार्गमै पार्किङ गरिदिनाले समस्या झनै बल्झेको हाछेँथु सुनाउछन्। 'शुल्क लिनेलाई हटाएपछि नगरपालिका आफैंले भए पनि व्यवस्थित गरिदिए हुन्थ्यो,' उनी भन्छन्, 'त्यसो नगरिदिँदा दरवारमार्गको सडक ग्यारेजमा परिणत भएको छ।
