मन्त्रीको झगडाले ३४ सहसचिव कामबिहीन

काठमाडौं। मन्त्रीहरुबीच कुन मन्त्रालयमा कसलाई लैजान भन्ने विवाद भएपछि सरकारका ३४ सहसचिव कामबिहीन भएका छन्। सरकारको नीति तथा योजना निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका भएका सहसचिव दिनहुँ सामान्य प्रशासन मन्त्रालय गएर हाजिर गर्छन् र घर फर्कन्छन्।cabinet_sushil_koirala_mant
सरकारले समयमै पदस्थापना गर्न नसक्दा एक महिनाअघि विभिन्न प्रतिस्पर्धाबाट बढुवा भएका सहसचिव कामबिहीन भएको नयाँ पत्रिकाले खबर लेखेको छ। ३४ मध्ये एक सहसचिवले त पदस्थापना नै नभई अवकाश पाइसकेका छन्।
आफूअनुकूल गरी छानेर आफ्नो मन्त्रालय लैजाने मन्त्रीहरुको प्रतिस्पर्धाका कारण पदस्थापनामा ढिलाई भएको सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ । ‘मन्त्रीहरु आफैं फलानो सहसचिव चाहियो भन्दै लविङ गर्दै हिँडिरहेका छन्,’ मन्त्रालयका एक अधिकारीले भने।
अर्थमन्त्री डा. रामशरण महतले राजस्व अनुसन्धान विभागका उपसचिव रहकै अवस्थामा बढुवा भएका भरत सुवेदीलाई जसरी भए पनि अर्थमा पठाइदिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई दबाब दिँदै आएका छन्। तर, विगतमा अर्थमा रहँदा विभिन्न आरोप खेपेको र बाहिरी देशको पिआरसमेत रहेकाले मन्त्री पण्डितले सुवेदीलाई अर्थमा नपठाउने बरु जगेडामा राखिदिने बताएका थिए। त्यसपछि अर्थमन्त्री महत र सामान्य प्रशासनमन्त्री पण्डितबीचको सम्बन्ध चिसिएको छ।

,

news and entertainment