अमेरिकाले रसियामाथि थप नाकाबन्दी लगाउदै
४ वैशाख, वासिङ्टन । संयुक्त राज्य अमेरिकाले रसियामाथि थप नाकाबन्दी लगाउने भएको समाचार छ ।
बिहीबार जेनेभामा सुरु हुन लागेको रसिया युक्रेन वार्ताका क्रममा कुनै सहमति निर्माण गर्न नसकेमा रसियमाथि थप नाकाबन्दीको तयारी आफुले गरेको अमेरिकाले जनाएको छ ।
सो वार्तामा रसियाले नै अग्रसरता लिएर हाल युक्रेनमा देखिएको असहज परिस्थितिको समाधानका लागि पहल गर्नुपर्ने दबाब अमेरिकाले दिएको छ ।
यदि त्यसो नगर्ने हो भने हामीले रसियामाथि नयाँ र थप नाकाबन्दीको तयारी गरिरहेका छौं– अमेरिकाले भनेको छ ।
यसैबीच अमेरिकी एक अधिकारीले जेनेभाको वार्तामा खासै कुनै उपलब्धि हुन नसक्ने आफुले पाएको प्रतिक्रिया दिएका छन् ।
उनले भनेका छन्– त्यस वार्ताबाट कुनै उपलब्धि हुनेजस्तो हामीले देखेका छैनौँ, त्यसैले हामीले नाकाबन्दीको तयारी गरिरहेका छौँ ।
युक्रेनमा जारी रहेको विद्रोहको समाधानका लागि बिहीबार रसिया युक्रेन वार्ता हुने भएको छ । सो वार्ताको तयारीका लागि रसिया र युक्रेनका विदेश मन्त्रीहरू त्यहाँ पुगेका छन् ।
जेनेभामा हुन लागेको सो वार्तामा युक्रेनमा जारी द्वन्द्वको समाधान खोजिने भएको बताइएको छ । तर वार्ताबाट भने सम्बद्ध देशनै कमैमात्र आसावादी रहेको बताएका छन् ।
सो वार्तामा सघाउनका लागि संयुक्त राज्य अमेरिका र युरोपेली युनियनका विदेश मन्त्री र प्रतिनिधि पनि त्यहाँ पुग्नेछन् ।
अमेरिका र युरोपेली युनियनले पनि सो वार्ताको मध्यस्थता गर्ने र समाधानका लागि सघाउने भएका पनि समाचारमा जनाइएको छ । रासस/एएफपी
