खाडलमा लुकाएको १७ हजार लिटर पेट्रोल भेटियो"आयल निगमका १९ ट्यांकरसहित २१ तस्कर पक्राऊ"

१६ वैशाख, रूपन्देही ।  खाडल खनेर जमीनमुनि लुकाइएका ड्रमहरुमा पेट्रोल खन्याइरहेको अवस्थामा रुपन्देही प्रहरीले मंगलबार आयल निगमका १९ वटा ट्यांकरसहित २१ जनालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट ल्याइएको पेट्रोल आयल निगमको डीपोमा नपुग्दै वीचैमा गायव पारिएको अवस्थामा मंगलबार अपरान्ह प्रहरीले समातेको छ। रुपन्देही जिल्लाको पडसरी-१ र मधवलिया गाविसको वडा नंम्बर ३ मा ट्यांकरबाट तेल झिकेर लुकाइरहेको अवस्थामा जिप्रका रुपन्देहीका प्रमुख एसपी विक्रमसिंह थापाको नेतृत्वमा खटिएको टोलीले पेट्रोल तस्करहरुलाई समातेको हो ।
भारतको बैतालपुरबाट भैरहवा र बुटवलको वीच भागमा सिद्धार्थ राजमार्गस्थित पश्चिमाञ्चल डीपोमा खन्याउनुपर्ने तेल वीचमै गायब पार्ने गरेको रहस्य खुलेको छ
 खाडलभित्र कोठाजस्तै बनाएर ड्रमहरु राखिएको र त्यसमा ठूला पाइपबाट पेट्रोल खन्याइरहेका बेला प्रहरीले २१ जनालाई समातेको हो । घटनास्थलबाट आयल निगमका १९ वटा ट्यांकर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । लुकाइएको १७ हजार लिटर पेट्रोल प्रहरीले बरामद गरेको छ ।
विगतदेखि नै आयल निगमका ट्यांकरले यसरी वीच बाटोमै तेल लुकाउने गरेको चर्चा चले पनि प्रहरीले फेला पार्न सकेको थिएन ।
भारतको बैतालपुरबाट रुपन्देहीको सुनौली नाका हुँदै नेपाल ल्याइने गरेको पेट्रोल यसरी वीच बाटोमै गायव गरिएको हो । भैरहवा र बुटवलको वीच भागमा सिद्धार्थ राजमार्गस्थित भलबारीमा रहेको पश्चिमाञ्चल डीपोमा खन्याउनुपर्ने तेल वीचमै गायब पार्ने गरेको रहस्य खुलेको छ ।

,

news and entertainment