अध्यक्ष खाने दाउमा रहेका ओली झनपछि झन् एक्लिँदै
१० बैशाख, काठमाण्डौ ।
नवौं महाधिवेशनको संघारमा संसदीय दलका नेता केपी शर्मा ओलीबाहेकका एमाले शीर्ष नेता प्रमुख सैद्धान्तिक विषयमा एक स्थानमा उभिन पुगेका छन्।
२०६२–६३ को परिवर्तन, समाजको चरित्र, अन्तरविरोध, प्रमुख कार्यभार र परिवर्तित सन्दर्भमा मार्गनिर्देशक सिद्धान्त, जनताको बहुदलीय जनवाद (जबज)लाई परिस्कृत गर्नेलगायतका सैद्धान्तिक विषयमा ओलीबाहेकका नेता एकै ठाउँमा आइपुगेका हुन्।
आसन्न नवौं महाधिवेशनलाई लक्षित गरी मदन भण्डारी फाउन्डेसनले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले सैद्धान्तिक मुद्दामा समान धारणा राखे। ओलीले भने फरक विचार राखेका छन्।
अध्यक्ष खनाल, वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमले समाजको चरित्र पुँजीवादी भइसकेको बताए। पार्टीकै कतिपय नेताले परिवर्तित परिस्थितिलाई स्विकार्न‘संकोच' मानिरहेको नेता नेपालको टिप्पणी थियो। उपाध्यक्ष गौतमले त्यस्तै धारणा राखे पनि उनले समाजको चरित्र पुर्ण पुँजीवादीकरण भइसकेको जिकिर गरे।
परिवर्तनको यथार्थलाई स्विकार्न नसक्नेले नेतृत्व गर्न नसक्ने बताउँदै गौतमले दिमागमा बाँधेको साङ्लो चुडाउन आग्रह गरेका थिए। ‘नेपाली कम्युनिस्ट पार्टीहरू २००६ सालको जस्तै अवस्थामा नेपाली समाज रहेको भन्दै आएका छन्,' गौतमले भने, ‘गोरु दाइँ गरेजस्तै हामी एकै ठाउँमा घुमिरहेका छौं।'
कार्यक्रममा ओलीले समाजको उत्पादन पद्धति लामो समय चल्ने भन्दै अहिलेको अवस्था संक्रमणकालीन रहेको बताएका थिए। उनले नेपालमा दुवै प्रकारका उत्पादन प्रणाली कायम रहेको बताएका थिए। ‘समाजको चरित्र बिहान एउटा, दिउँसो अर्को र साँझमा अर्कै हुने होइन,' ओलीले भने।
कार्यक्रममा खनाल, नेपाल र गौतममले राजतन्त्रको अन्त्य गर्न भएको २०६२–०६३ को परिवर्तनलाई आफ्नै प्रकारको नयाँ जनवादी क्रान्ति भनेका थिए। राजनीतिक क्रान्ति सम्पन्न भइसकेको दाबी गर्दै उनीहरूले अगामी राजनीतिक कार्यदिशा देशको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्ने बताएका थिए।
राजनीतिक क्रान्ति सम्पन्न भइसकेको धारणा महासचिव ईश्वर पोखरेलको पनि छ। ‘२०६२–०६३ को परिवर्तन शान्तिपूर्ण जनआन्दोलनबाट विकास भएको राजनीतिक क्रान्ति नै हो,' महासचिव पोखरेलले भने, ‘राजनीतिक क्रान्तिपछि सामाजिक र आर्थिकमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गरिनुपर्छ।'
कार्यक्रममा एमाले सचिव शंकर पोखरेलले ‘जबजको सान्दर्भिकता र नवौं महाधिवेशन' विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
नेपाल–ओली छेडखानी
ओलीले नवौं महाधिवेशन सातौं महाधिवेशनजस्तो कार्यक्रममा असफल हुन नहुने भन्दै नेपालप्रति व्यंग्य गरेका थिए। ‘हामीले त्यतिबेला संविधानसभालाई नकार्यौं। महाधिवेशनबाट फर्किंदा बाटोसम्म त्यो कायम रह्यो। तर, घर पुग्दा परिवर्तन भइसकेको थियो,' ओलीले भने, ‘अध्यक्षात्मक पद्धति ल्याएर सामूहिक नेतृत्वमा जाऊँभन्दा त्यसले लेनिनवादी संगठनात्मक पद्धति समाप्त पार्ने दाबी गरियो। तर, आठौंमा सर्वसम्मतिले पारित गरियो।'
नेपालले पनि परिवर्तनलाई स्विकार्न कठिन हुने भन्दै ओलीप्रति कटाक्ष गरे। ‘देश र पूरै पार्टी गणतन्त्रमय भइसकेको अवस्थामा पनि केही साथी गोरुगाडामा चढेर अमेरिका पुग्न सकिन्छ र भन्नुहुन्थ्यो,' उनले भने।
कार्यक्रममा उपाध्यक्ष गौतमले नेपाललाई नेतृत्वका लागि फेरि दाबी नगर्न आग्रह गरे। नवौं महाधिवेशनले ओलीलाई अध्यक्ष बनाउनुपर्ने गौतमको धारणा थियो। ‘अहिलेको सैद्धान्तिक बहसमा सहमति खोज्ने प्रयास भइरहेको छ। जुन विचार बन्छ त्यसलाई पार्टीको विचार बनाऔं,' गौतमले भने, ‘ओली विचारमा अल्पमत परे पनि नेता बन्न सक्नुहुन्छ। अल्पमतमा परेर पनि नेतृत्व गरेका कैयौं उदाहरण छन्।'
नागरिक दैनिकबाट