निर्वाचन आयोगले खरेलको सरुवा सहमति दिएन
शुक्रवार आयोगको पूर्ण बैठक बस्दै
काठमाडौंका एसएसपी रमेश खरेललाई यथाशिघ्र सरुवा गर्ने उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको योजनामा निर्वाचन आयोगले अलमल गराइदिएको छ।गृहमन्त्रालयले खरेलको सरुवा सहमतिका लागि आयोगमा पत्राचार गरेपनि बुधवार निर्णय भएन ।
निर्वाचन आचार संहिता अनुगमन समितिको बुधबारको बैठकमा यसबारे छलफल भएपनि निर्णयमा हुन सकेन।
‘गृहको पत्रबारे आज गम्भिर छलफल गरेर आयोगमा नै सिफारिस गर्ने निर्णय भयो,’ समितिको बैठकपछि निर्वाचन आयुक्त एवं समिति संयोजक अयोधीप्रसाद यादवले सेतोपाटीलाई बताए ।
आयोग प्रवक्ता वीरबहादुर राईले खरेलको सरुवा स्विकृति दिने वा नदिनेबारे आयोगले शुक्रबारको बैठकबाट निर्णय लिने बताएका छन् ।
खरेलले शनिबार राजधानीको एक कार्यक्रममा प्रहरीका पैसावाल डिआइजीहरु बढुवाहुनका लागि व्रिफकेश बोकेर मन्त्री र नेताको घरघर चहारिरहेका छन् भन्ने आरोप लगाउँदैै त्यस्तालाई बढुवा नगर्न माग गरेका थिए।
गृहमन्त्री भएदेखि नै खरेलसँग रुष्ट गृहमन्त्री बामदेव गौतमले उक्त अभिव्यक्तिपछि कारवाहीस्वरुपको सरुवा निर्णय गरेका हुन्।
गौतमको निर्देशन अनुसार गृह सचिव सूर्य सिलवालले आयोगलाई पत्राचार गर्दै ‘खरेलको सरुवा नभए आगामी असार ८ गते काठमाडौं २ मा हुने उपनिर्वाचनमा असर पर्ने जिकिर सहित’ सरुवा स्विकृती मागेको थियो। भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

