दिलशोभाको "आमा घर" मा यौन दुर्व्यवहार भएको पीडित बालिकाको खुलासा (भिडियो सहित)
बेलायतमा मात्र हैन, विश्वमै प्रतिष्ठित अखबारका रुपमा लिइने गार्डियनले नेपालको बालगृहका विसंगतिहरुको बारेमा एउटा खोजमूलक खबर छापेको छ। यसको अनलाइन संस्करणलाई विश्वकै तेस्रो सबैभन्दा बढी पढिने न्युजपेपरको वेबसाइट दावी गरिन्छ। त्यही अनलाइन संस्करणमा खबरसँगै एउटा भिडियो रिपोर्ट पनि राखिएको छ, जसमा दिलशोभा श्रेष्ठको आमा घरबाट घरेलु श्रम गर्न बाहिर पठाइएकी एक बालिकाको कहालिलाग्दो बयान राखिएको छ। ती बालिकाले आफूलाई अन्य दुर्व्यवहारका साथै एक जनाले आफूलाई बलात्कारसमेत गर्न खोजेको बताएकी छिन्।
भिडियोमा एक बालिकाले आमाको घरमा १२ वर्ष हुँदा आएकी र आएको एक वर्षपछि घरेलु कामदारका रुपमा काम गर्न पठाइएको बताएकी छिन्। आफू त्यहाँ करिब चार वर्ष बसेकी र त्यस क्रममा त्यो घरकी श्रीमतिले कपाल तान्ने, गाली गर्ने, पिट्ने र कहिलेकाहीँ थुक्नेसमेत गरेको उनको भनाई छ। ‘त्यहाँ एक जना वृ्द्ध पनि हुनुहुन्थ्यो मान्छे, उहाँले मलाई बलात्कार गर्न पनि कोशिश गर्नुभयो,’ उनले भनेकी छिन्।
बेलायतमा बाल अधिकारको कडा कानुन छ। त्यही भएर पीडित बालिकाको परिचय लुकाउन अनुहार देखाइएको छैन। त्यति मात्र हैन, आवाजका कारण पहिचान होला कि भनेर बयानमा आवाजसमेत कलाकारको आवाज राखिएको छ।
गार्डियनको रिसर्च टिमले केही दिनअघि यस विषयमा अनुसन्धान गर्ने क्रममा ती बालिकासँगको कुराकानी खिचेको थियो। बालिकालाई एकान्त र समूह दुवैमा राखेर भिडियो खिचिएको थियो। तर परिचय गोप्य राख्नुपर्ने त्यहाँको कानुन अनुसार यसरी आवाजसमेत परिवर्तन गरेर भिडियो राखिएको हो।
१९३ वर्षको इतिहास बोकेको बेलायतको प्रतिष्ठित पत्रिकाले यत्तिकै हचुवा तालमा यस्तो गम्भीर विषय प्रकाशन गर्दैन होला। तरै पनि कसैलाई यसले दिलशोभाको अन्तर्राष्ट्रिय बेइज्जत भएको लाग्छ भने उनका समर्थकहरुले बेलायतको कानुन अनुसार मानहानीको मुद्दा हाल्न सक्छन्। बेलायतको कानुनमा यहाँ जस्तो केही सय रुपियाँको जरिवाना हुँदैन, कडा हुन्छ, लाखौँ पाउन्ड जरिवाना क्षतिपूर्तिवापत् तिराउन सकिने संभावना हुन्छ। उनका समर्थकहरुले त्यतातिर ध्यान दिने कि !

