एउटै रोगको १२ अस्पतालमा १२ थरी रिपोर्ट
भारतको एक र नेपालका ११ वटा अस्पताल र प्याथोलोजी ल्याबमा कोलेस्टेरोल परीक्षण गराउँदा एकै दिनमा समेत फरक फरक रिपोर्ट आएपछि बिराटनगर १३ का मातृका सिवाकोटी चकित
७ जेठ, काठमाडौं । विराटनगरका पुस्तक व्यवसायी मातृका शिवाकोटीले एक दर्जनभन्दा बढी ल्याब सेन्टर र स्वास्थ्य संस्थामा गएर कोलेस्ट्रोल (शरीरमा भएको बोसोको मात्रा) परीक्षण गराए विराटनगर, काठमाडौं र भारतसम्म पुगेर कोलेस्ट्रोल परीक्षण गराउँदा रिपोर्ट भने फरकफरक आयो।
एकै दिन धेरै स्वास्थ्य संस्थाको ल्याब र निजी ल्याबमा पुगेर परीक्षण गराउँदा पनि रिपोर्टमा एकरूपता नहुँदा उनी औषधि सेवन गर्ने कि नगर्ने भन्ने अन्योलमा परेका छन्।
केही ल्याबले कोलेस्ट्रोल नभएको र केहीले कोलेस्ट्रोल भएको देखाएपछि उनी थप समस्यामा परेका छन्। कोलेस्ट्रोल भएको देखाएका ल्याबको रिपोर्टमा पनि ठूलो भिन्नता छ।
कोलेस्ट्रोल देखाएका ल्याबमध्ये कुनैले सामान्य अवस्थाभन्दा २१ मिलिग्राम परडेसिलिटर बढी रहेको रिपोर्ट दिएका छन् भने कुनैले दुई सय २८ मिलिग्राम परडेसिलिटरसम्म रहेको देखाएका छन्। 'रिपोर्ट चित्त नबुझेपछि धेरै ठाउँमा परीक्षण गराएँ', उनले भने, '८५ हजार रुपैयाँभन्दा बढी खर्च भइसक्यो तर कुन रिपोर्टलाई विश्वास गर्नेरु कुन सही हो भन्ने निष्कर्ष निस्कन सकेको छैन।'
त्यस्तै इटहरीका पुस्तक व्यवसायी सञ्जीव सत्याल पनि आफ्नो शरीरको कोलेस्ट्रोल परीक्षण गर्न विराटनगर, काठमाडौं र भारतसम्म पुगे। परीक्षण रिपोर्ट फरकफरक आएपछि उनी पनि समस्यामा छन्।
दुवैजनाले भारत दिल्लीको एपोलो अस्पताल, विराटनगरको विराट, न्युरो, नोबेल, कोसी अञ्चल अस्पतालका ल्याब र केही निजी ल्याब तथा काठमाडौंका टिचिङ र नर्भिक अस्पतालमा गराएको परीक्षणमा रिपोर्ट फरकफरक आएको हो। 'रिपोर्टमा एकरूपता नहुँदा अहिलेसम्म औषधि सेवन गर्न सकिरहेको छैनु, शिवाकोटीले भने, 'रिपोर्टको भिन्नता देखेर चिकित्सक नै चकित छन्।' विराटनगर र काठमाडौंका नाम चलेका ६ जना चिकित्सकलाई देखाए पनि ल्याब रिपोर्टका आधारमा विश्वास गरेर औषधि दिनसक्ने अवस्था नरहेको भन्दै चिकित्सकले औषधि सिफारिस गर्न सकिरहेका छैनन्', उनले भने।
विराटनगर ६ स्थित मदरल्यान्ड एकेडेमी स्कुलका प्रिन्सिपल मोहन बुढाथोकीले पनि विराटनगरका चारवटा ल्याबमा एकै दिन विलिरुविन ९पहेंलोपन० परीक्षण गराउँदा रिपोर्ट फरकफरक आयो। कसैले विलिरुविनको मात्रा धेरै देखाएका छन् भने कसैले थोरै रहेको देखाएका छन्। ल्याबहरूले एक मिलिग्राम परडेसिलिटरदेखि दुई दशमलव दुईसम्म विलिरुविन रहेको देखाएपछि समस्या भएको उनले बताए।
शिवाकोटी, सत्याल र बुढाथोकी मात्रै होइन, विभिन्न रोगको परीक्षण गर्न ल्याबमा जाने बिरामीको रिपोर्ट ल्याब नै पिच्छे फरकफरक आउँदा बिरामीको उपचारमा समस्या हुन थालेको छ। धेरै पहिलेदेखि ल्याबमा यस्ता समस्या दोहोरिरहे पनि सम्बन्धित निकाय भने मौन छ। ल्याब नै जाँच गरेर सही हो कि होइन भनी छुट्ट्याउने अधिकार पाएको निकायले आफ्नो काम चुस्त नबनाउँदा ल्याब सञ्चालनका नाममा मनपरी बढेको छ। सरकारी निकायले विराटनगरमा अहिलेसम्म एउटा पनि ल्याबमा अनुगमन नगरेको स्रोतले बतायो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याबका बारेमा परीक्षण र अनुगमन गर्नुपर्ने हो तर अहिलेसम्म गरिएको छैनु, एक ल्याबका प्राविधिकले भने।
कोसी अञ्चल अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. दिनेश न्यौपानेले ल्याब सञ्चालनका नाममा बढ्दै गएको मनपरीतन्त्रको मारमा बिरामी परिरहेको बताए। ल्याबको रिपोर्ट फरकफरक आउने गरेपछि बिरामीलाई औषधि सिफारिस गर्न र उनीहरूको उपचारमा पनि समस्या भइरहेको उनले बताए। डा। न्यौपानेले कोलेस्ट्रोलमा १० देखि २० सम्म र विलिरुविनमा शून्य दशमलव पाँच मिलिग्राम परडेसिलिटरसम्म फरक आउनुलाई स्वाभाविक लिनुपर्ने तर ठूलो भिन्नता आउनु अस्वाभाविक भएको बताए।
'कतिपय बिरामीको ल्याब रिपोर्ट शंकास्पद लागे हामीले नै अन्य ल्याब र सरकारी ल्याबमा परीक्षण गर्न पठाउने गरेका छौुं, उनले भने। सम्बन्धित निकायले बेलैमा अनुगमन गरेर गलत ढंगबाट सञ्चालित ल्याबलाई कारबाही नगरे उपचारमा समस्या आउने उनले बताए।
कोसी अञ्चल अस्पताल विराटनगरका ल्याब टेक्निसियन रेवती पोखरेल ल्याब परीक्षणमा प्रयोग गरिने केमिकलको मात्रा, परीक्षण गर्ने यन्त्र, प्राविधिकको कार्यक्षमता, अनुभव र केमिकल भण्डारण गर्ने रेफ्रिजेरेटरको व्यवस्थाले परीक्षणको रिपोर्टमा असर गर्ने बताउँछन्। 'एउटै समस्याको रिपोर्ट एकै दिन फरकफरक आउनुले समस्या निम्त्याउँछु, उनले भने। विराटनगरमा तीन सयभन्दा बढी निजी र सरकारी ल्याब छन्।
मोरङका जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले ल्याबमा देखिएको समस्याका बारेमा धेरै गुनासो आएकाले यस विषयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई जानकारी गराइएको बताए। 'ल्याबको गुणस्तर र त्यहाँ काम गर्ने जनशक्ति उपयुक्त भएनभएको बारेमा अनुगमन गर्न आग्रह गरेर पत्र नै पठाएका छौ' , उनले भने, 'जिल्ला जनस्वास्थ्यसँग यो समस्या नियन्त्रण गर्ने कानुनी अधिकार छैन।'
