प्रधानमन्त्री कोइराला दिल्ली प्रस्थान
काठमाडौं, १२ जेठ । प्रधानमन्त्री सुशील कोइराला भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन सोमबार नयाँदिल्लीतर्फ प्रस्थान गर्नु भएको छ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री कोइरालाले आफ्ना भारतीय समकक्षीसँग भेटवार्ता गर्नुका साथै राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नयाँदिल्लीमा रहँदा कोइरालाले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, भारतीय राष्ट्रिय कङ्ग्रेसकी अध्यक्ष श्रीमती सोनिया गान्धी र प्रधानमन्त्रीबाट निवृत्त हुन लाग्नुभएका डा मनमोहन सिंह एवम् अन्य राजनीतिक दलका विशिष्ट व्यक्ति र नेपालका मित्रहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले केहीबेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री कोइरालाले शपथ ग्रहण समारोहमा सहभागी हुने विभिन्न राष्ट्र तथा सरकार प्रमुखहरूसँग पनि भेटघाट गर्नुहुनेछ ।
उक्त मन्त्रालयका अनुसार प्रधानमन्त्रीका साथ सभासद्द्वय सुजाता कोइराला र सशाङ्क कोइराला, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराई तथा सरकारका अन्य वरिष्ठ अधिकृत रहनु भएको छ ।
प्रधानमन्त्री कोइराला जेठ १४ गते स्वदेश फर्कनुहुनेछ ।

