मलाई पनि बिहे गर्ने उत्साह मिलेको छ :कोलम वली
जेठ १३ गते
महानायक राजेश हमालले बुढेसकालमा गत शनिबार बिहे गरे। अभिनेत्री मिथिला शर्माले पनि पूर्वआईजीपी मोतीलाल बोहारासँग बिहे तय गरेकी छिन्। नायक हमालजत्तिकै गायिका कोलम वलीले पनि बिहेबारे धेरै प्रश्न झेल्दै आएकी छिन्। हमाललाई बिहेको बारेमा तीन दशकदेखि सोधिँदै आएको प्रश्नको अन्त्य भएको छ। के वलीले यस्ता प्रश्नको अन्त्य गर्ने योजना बनाएकी छिन त ? रेडियो नेपालकी समाचारवाचिका समेत रहेकी वलीसँग यसपटकको जम्काभेट :
मिथिला राजेश हमालको पनि बिहे भयो, मिथिला शर्माले पनि तय गर्नुभयो, अब बिहे गर्ने पालो कोमल वलीको भन्ने हल्ला छ नि ?
(हाँस्दै) दर्शक स्रोताहरूले अब मेरो पालो छुट्याइदिनुभएको हो भने मैले पनिे सोच्नुपर्ला ।
साथीभाइले चाहिँ भनेका छन् कि छैन ?
खासै भनेका छैनन् । तर कहिलेकाहीँ कुरा निस्कँदा यस्तो भन्नु स्वभाविक हो । जिस्काउने रमाइलो गर्ने तरिकाले साथीभाइले पनि बिहेको कुरा उठाउँछन् ।
राजेश हमालको बिहेमा जानुभएन ?
गइएन ।
किन नजानुभएको ?
उहाँले बोलाउनु नै भएन
नबोलाउँदा चित्त दुख्यो कि ?
छैन । किन चित्त दुख्नु ? उहाँले बिहे गर्नुभयो, त्यसैमा म खुशी छ । नबोलाउनुलाई सामान्य रुपमा लिएकी छु ।
बिहे नगर्ने बताउँदै आउनुभएकी मिथिला शर्मा पनि बुढेसकालमा बिहे गर्न लाग्नुभयो, तपाईंलाई कस्तो लाग्यो ?
जिन्दगीमा सबै कुरा शतप्रतिशत सोचेकै जस्तो हुँदैन । कुनै पनि क्षणमा नयाँ घटना हुनसक्छ । कुन समयमा के कुराले खुशी होइन्छ, त्यही अनुसार निर्णय लिने हो । अहिले आएर उहाँले बिहेको निर्णय लिनुभयो, यो खुशीकै समाचार हो ।
उहाँको निर्णयले तपाईंको मुन चेन्ज त भएको छैन ?
(हाँस्दै) मलाई पनि पनि प्रेरणा मिलेको छ । म पनि उत्साहित भएको छु ।
भनेपछि तपाईंको पनि उहाँहरूजस्तै छिट्टै बिहेको खबर लेख्न पाइन्छ ?
मैले बिहे गर्ने भइभने पत्रकार सम्मेलन नै गर्छु नि ।
सांगीतिक जीवन चाहिँ कस्तो चलिरहेको छ ?
भर्खरै नयाँ एम्बम तयार भएको छ । एल्बमको नाम ‘तरुनी’ राखिएको छ । अरु गीत पनि रेकर्डिङ चलिरहेको छ ।
तपाईंका गीत र एल्बमका नाम सधैं रोमान्टिक हुन्छन् नि ?
यसपटक पनि रोमान्टिक नै नाम राखेको छु । तरुनी युवतीको बारेमा गीतहरू छन् । थारु भाषामा बक्षनिया उपनाम पनि राखिएको छ एल्बमको । बक्षनिया भनेको थारु भाषामा सुन्दर युवती हो ।
म रोमान्टिक गीत गाउन नै रुचाउँछु । हामीका दु:खहरू धेरै छ । विदेशी परेका, गरिबीका कारण मान्छेहरू दु:खी छन् । त्यसकारण गीत सुनेर भए पनि रमाउन् भनेर यस्ता गीत गाउने गरेको हुँ । केही समय भएपछि मान्छेले गीत सुनेर पीडा भुल्न सकुन् । खासगरी लोकदोहारी गीत केटा केटीले जिस्काउने खालका नै राम्रो हुन्छन् ।
गीत् बेचेर कत्तिको कमाई हुन्छ ?
बीचमा मान्छेहरूले एम्बम किन्न छाडेका थिए, कपि गर्ने चलन थियो । तर पछिल्लो समय अवस्था सुधारिएको छ । मान्छेले एल्बम नै राख्न रुचाउन थालेका छन् । त्यसकारण १/२ वटा मात्र गीत गाउने भन्दा पनि मैले एल्बम नै निकालेको हुँ । तर एम्लब बेचेर त खासै कमाई हुन्न ।
कलाकारहरूको कमाई स्टेज कार्यक्रम नै हो त ?
मुख्य स्रोत त त्यही नै हो । बिदेशमा कार्यक्रमहरू जाँदा पनि कमाई हुन्छ । एल्बमबाट भन्दा कार्यक्रमहरूबाट कमाई राम्रो हुन्छ ।

