बोको हरामद्वारा फेरि ६० जना बालिका अपहरित

मिदुगुरी (नाइजेरिया), असार ११ – नाइजेरियाको एक अतिवादी समूह बोको हरामले पुनः कम्तीमा पनि ६० जना बालिका अपहरण गरेको समाचार छ ।
सो समूहका हतियारधारीले सोमबार राति ती बालिकालाई अपहरण गरेका समाचारमा जनाइएको छ । ती मध्ये कतिपय तीन वर्षीया बालिका पनि परेका छन् ।
उनीहरुले विगत करिब दुई महिनादेखि महिला र बालबालिकाको अपहरण गर्ने अभियान नै सञ्चालन गरिरहेका छन् ।
यस अघि उनीहरुले कम्तीमा पनि २०० जना स्कुले बालिकालाई अपहरण गरेका थिए । उनीहरुले सो अपहरणको जिम्मेवारी पनि लिएका छन् ।
सोमबार राति पनि नाइजेरियाको बोर्नाे राज्यको दाम्बोआ जिल्लाबाट ती बालिकालाई अपहरण गरिएको अधिकारीहरुले जनाएका छन् ।
गत महिना अपहरणमा परेका २०० जना बालबालिकाको उद्वारको काम सुरक्षाकर्मीहरुले अघि बढाइरहेको बताइरहेकै बेला ती अतिवादीहरुले सोमबार पुनः यो घटना गराएका छन् ।
बोको हरामले आफ्नो नियन्त्रणमा रहेका यसअघिका २१९ जना बालिकालाई आफ्ना लडाकूको रिहाइपछिमात्र मुक्त गरिदिने जनाएको छ ।
तर नाइजेरिया सरकारले भने आफ्नो जेलमा रहेका कुनैपनि लडाकूलाई रिहा नगर्ने जनाएको छ । कुनैपनि शर्तमा विगतका ठूलाठूला र जघन्य प्रकृतिका हत्याको आरोपमा प्रमाणित भइसकेका ती व्यक्तिको रिहा नगर्ने सरकारले जनाएको छ ।
तर सरकारले विगतदेखि नै बोको हरामसँग वार्ताको प्रस्ताव राखिरहेको छ । सो प्रस्ताव बमोजिम नै वार्तामा बसेमा आपसमा हुनसक्ने छलफल र परामर्शबाट थुनुवालाई रिहा गर्नपनि सकिने सरकारले बताएको छ ।
तर सो आतङ्ककारी समूह वार्ताका लागि भने तयार नभएको देखिएको छ । सरकारको वार्ताको प्रस्तावप्रति उसले कुनै प्रतिक्रिया दिएको छैन ।
पछिल्लो समाचारअनुसार पछिल्लो समयमा अपरहणमा परेका ती ६० जना बालिका र केही महिलाको अवस्था पत्ता लाग्न सकेको छैन ।
उनीहरु कुम्बोआ जिल्लाको दाम्बाजा गाउमा प्रवेश गरी केही महिला र बालिकाहरुलाई छानीछानी लिएर गएको एकजना स्थानीयले बताए ।
निकै ठूलो सङ्ख्यमा र शक्तिशाली हतियारसहित आएकोले उनीहरुको प्रतिकार गर्न नसकिएको गाउँलेले जनाएका छन् । उनीहरुले बालकलाइ नभई बालिकामात्र लिएका गएका पनि स्थानीयहरुले जनाएका छन् ।

,

news and entertainment