सुवारेजको सन्तुलन गुमेको दाबी
असार १५ - उरुग्वेली खेलाडी लुइस सुआरेजले शनिबार विश्वकप २०१४ को इटालीविरुद्ध खेलमा आफूले प्रतिद्वन्द्वी डिफेन्डर जर्जियो चेलिनीलाई नटोकेको दाबी गर्दै आफूले सन्तुलन गुमाएको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले मंगलबारको समूह चरणको खेलमा चेलिनीलाई टोकेको आरोपमा २७ वर्षीय सुवारेजमाथि चार महिना र नौ अन्तर्राष्ट्रिय खेलको प्रतिबन्ध सुनाएको थियो ।
उरुग्वेली फुटबल संघले फिफाको यो निर्णयविरुद्ध अपिल गर्ने बताइसकेको छ । 'मैले आफ्नो शरीरको सन्तुलन गुमाएको हो । यस्तोमा मैले आफ्नो शरीरलाई गतिविरुद्ध स्थिर राख्न सकिनँ र आफ्नो विपक्षी खेलाडीमाथि टाउको बजार्न पुगें,' सुवारेजले फिफालाई लेखेको पत्रमा उल्लेख गरेका छन्, 'यस क्रममा उनको शरीरमा मेरा दाँतले छोएको हुन सक्छ । त्यसले मलाई दाँतमा असह्य पीडा पनि दिएको छ ।' फिफाको अनुशासन कमिटीलाई पठाएको सुवारेजको दाबीमा अगाडि उल्लेख गरिएको छ, 'जसरी घटना भएको छ, म यसलाई टोकेको अथवा टोक्ने प्रयास मान्न सक्दिनँ ।' तर फिफाको अनुशासन कमिटीले सुवारेजले जानाजान, चाहेर टोकेको ठहर गरेको छ । सुवारेजमाथि कडा निर्णय दिएकामा फिफाले स्पष्टीकरण दिएको छ ।
बार्सिलोना अझै सुआरेजलाई चाहन्छ
बार्सिलोना अझै सुआरेजलाई चाहन्छ
बार्सिलोना उरुग्वेका स्ट्राइकर लुइस सुआरेजलाई अझै पनि क्लबमा भित्र्याउन चाहन्छ । सुआरेजले विश्वकपमा इटालीका डिफेन्डर जर्जियो चेलिनीलाई टोकेका थिए । लिभरपुलका २७ वर्षीय स्ट्राइकरलाई उनको खराब गतिविधिका कारण चार महिनाका लागि कुनै पनि फुटबल खेल्नका लागि प्रतिबन्ध लागेको छ । त्यो अक्टोबरसम्म लागू हुनेछ । उनले क्लबका साथीहरूसँग अभ्यास गर्न पाउने छैनन् भने फुटबल रंगशालामा छिर्न पाउँदैनन् । तर ला लिगा क्लब बार्सिलोनासँग अहिले अर्जेन्टिनी स्टार लियोनल मेसी र ब्राजिलका नेयमर छन् । तर पनि ऊ सही मूल्यमा सुआरेजलाई किन्न चाहन्छ । सुआरेज सन् २०११ मा लिभरपुल आएका हुन् ।
उनलाई आयक्स क्लबले २५ मिलियन पाउन्डमा बेचेको थियो । उनी गत सिजन पनि चेल्सीका डिफेन्डर ब्रानिस्सभ इभानोभिचलाई टोकेपछि १० खेलको प्रतिबन्धमा परेका थिए । त्यसका बाबजुत उनी लिगमा ३१ गोल गर्दै सर्वाधिक गोलकर्ता भए र लिभरपुललाई इङलिस पि्रमियर लिगको उपविजेता बनाए ।
