मिर्गौला बेच्ने नेपाली गाउँको कथा सिएनएनमा
सिएनएनले मिर्गौला बेच्ने नेपालीहरुको कथा उतारेर डकुमेन्ट्री बनाएको छ। नेपालको अंग अनुसन्धान: सिएनएनको स्वतन्त्रता परियोजना डकुमेन्ट्री शीर्षकको यो रिपोर्ट शुक्रबार नेपाली समयअनुसार साँझ ९:१५ बजे प्रसारण हुनेछ। त्यस्तै शनिबार दिउँसो २:१५ र साँझ ६:४५ बजे, आइतबार बिहान ९:१५ र दिउँसो २:१५ बजे, मंगलबार राति १०:१५ बजे र बुधबार बिहान १० बजे प्रसारण हुनेछ।
'मानव अंगको बेचबिखन अमानवीय व्यापार हो जसले मानिसलाई व्यक्तिगत रुपमा मात्र मार्दैन, समग्र परिवारलाई नै खत्तम गर्छ,' सिएनएनद्वारा जारी विज्ञप्तिमा सिएनएन इन्टरनेशनलका उपाध्यक्ष तथा प्रवन्ध निर्देशक टोनी म्याडक्सले भनेका छन्। 'यो एउटा भन्नैपर्ने कथा हो, हामीले यो अमानवीय अभ्यासलाई उजागर गर्न धेरै समय खर्चिरहेका छौँ ताकि यसलाई बाहिर ल्याउन सकियोस्,' उनले भनेका छन्। काभ्रे जिल्लामा हुने मानव अंगको तस्करीलाई यो डकुमेन्ट्रीमा चित्रित गरिएको छ।
