नेपाली क्रिकेटरलाइ मासिक २० देखी ४० हजार तलब

१७ चैत,काठमाडौं। विश्वकप खेलेर फर्केको साता नबित्दै राष्ट्रिय क्रिकेटरहरूले अब सामान्य जागिरको चिन्ता लिनुनपर्ने भएको छ । प्रशिक्षक पुबुदु दसानायकेको प्रस्तावअनुसार क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) उनीहरूलाई मासिक २० देखि ४० हजार रुपैयाँ तलब दिन तयार भएको कान्तिपुर दैनिकमा खबर छ । 

प्रशिक्षक पुबुदुले बुधबार पारिवारिक बिदामा क्यानडा जानुअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामा, क्यान अध्यक्ष टंक आङबुहाङ र महासचिव अशोकनाथ प्याकुरेलसमक्ष खेलाडीलाई नियमित तलब दिनुपर्नेलगायत क्रिकेट विकासका दुईवर्षे कार्यक्रम प्रस्ताव गरेका थिए । 'त्यही प्रस्तावअनुसार खेलाडीलाई क्षमताअनुसार तीन समूहमा वर्गीकरण गरेर मासिक २० देखि ४० हजार रुपैयाँ तलब दिनेछौं,' आङबुहाङले भने, 'यति तलब भएपछि राम्रा खेलाडीले जागिरको चिन्ता लिनुपर्दैन ।'
paras khadka big
पुबुदुले उत्कृष्ट ७ खेलाडीलाई 'ए', त्यसपछि अब्बल ७ लाई 'बी' र अन्य ४ खेलाडीलाई 'सी' मा समावेश गर्दै 'सेन्ट्रल कन्ट्रयाक' मा राख्न प्रस्ताव गरेका छन् । प्रस्तावअनुसार 'ए' मा पर्ने प्रत्येक खेलाडीलाई मासिक ४० हजार, 'बी' लाई ३० हजार र 'सी' लाई २० हजार रुपैयाँ तलब दिनुपर्छ । 'संसारमा देशको गौरव बढाउने खेलाडीलाई यति तलब धेरै ठूलो कुरा होइन । प्रायोजक खोजेर वा जसरी हुन्छ, हामी उपलब्ध गराउनेछौं,' आङबुहाङले भने ।

बंगलादेशबाट फर्केलगत्तै गुजाराकै चिन्तामा ऐतिहासिक क्रिकेटरहरू नेपाली सेनामा सिपाहीभन्दा तल्लो पद बन्दोबस्ती कार्य सिपाही (बकासी) का लागि आवेदन दिन पुगेका थिए । क्यानले नियमित तलबै दिने तयारी सुरु गरेपछि उनीहरूमा उत्साह छाएको छ । 'सेन्ट्रल कन्ट्रयाक्टको व्यवस्था भयो भने एकदमै राम्रो हुनेछ । कार्यान्वयन नै मुख्य कुरा हो । त्यसैले तलबका लागि निश्चित कोष वा प्रायोजकको व्यवस्था बेलैमा गर्नुपर्छ । अनि खेलेरै बाँच्न सक्ने आधार पनि तयार हुन्छ,' राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने ।

, ,

news and entertainment