एउटा ब्रिफकेसको बयान ! चारै तिर येसैको हल्ला ?


akhand bhandariअखण्ड भण्डारी:- जुनसुकै ठूला मान्छेले ठूला काम गराउन यो देशमा बि्रफकेस बोक्छन् भन्ने कसलाई थाहा छैन र ?
म ब्रिफकेस हुँ । कुनै सुरक्षा अधिकारीको घरमा छु । कसकहाँ छु, त्यो त भन्दिनँ । किनकि म जहाँ बसेको छु, सन्तुष्ट छु । हरेक दिन फेरी-फेरी द्रव्यले पेट भर्छु । ठूला-ठूला मान्छेलाई भेट्न जान्छु । सहरको सडकै-सडक केही दिनअघि एउटा महलतिर जाँदै थिएँ, एक प्रहरी अधिकृतसँग जम्काभेट भयो । फुली हेरेँ, मेरा मालिकको भन्दा कमै रहेछ ।
मलाई देखेर उनले थर्काए, ‘ऐ, को होस् तँ ?’
मैले पनि गर्जिएरै उत्तर दिएँ, ‘ठूलो मान्छेको ठूलै माल हुँ ।’
‘कहाँ हिँडेको ?’ उनी झन् कड्किए ।
‘जता हिँडे पनि तपाईंलाई के भयो ?’ म पनि बट्टारिएँ ।
‘म प्रहरीको यहाँको हाकिम हुँ’, उनले भने, ‘मैले सोधेको प्रश्नको सिधा उत्तर दे । नत्र लगेर कोचिदिन्छु ।’
‘हाहाहा…’ मलाई त हाँसो पो छुट्यो ।
‘गुन्डा नाइके होस् कि क्या हो तँ ?’ फिल्मी भिलेनको जस्तो हाँसो देखेर होला, लठ्ठी हल्लाउँदै उनले इन्स्पेक्टरलाई आदेश दिए, ‘समात्नुहोस्, यसलाई ।’
‘म प्रहरीको तपाईंभन्दा ठूलो हाकिमको ठूलै तागत हुँ’, म पनि के कम, चिनाइदिएँ, ‘उहाँलाई देशकै हाकिम बनाउने ड्युटीमा छु । त्यही ड्युटी पुरा गर्न माथि गइरहेको छु । समात्नुभयो भने बेकारमा फँस्नुहोला ।’
‘कुन हाकिमको ?’ नम्र भएर उनले सोधे ।
मैले नाम-थर सबै बताइदिएँ ।
‘सलाम साब’, उनले मलाई पो सलाम ठोके ।
मैले फर्काएँ । तर सोधेँ, ‘मलाई किन सलाम गर्नुभयो ?’
‘मेरो खास हाकिम तपाईं नै हो’, उनले भने, ‘तपाईंका मालिक त डमीमात्र हुन् । साथमा तपाईं नभए उनी मेरा हाकिम हुनै सक्दैनन् थे ।’
‘खोइ !’ आफ्नो पावर देखेर म आफैं छक्क परेँ ।
ललल
‘मभन्दा ठूला हाकिम बढुवा हुन बि्रफकेस बोकेर माथि-माथि धाउँदैछन्’, मलाई सलाम ठोक्ने व्यक्तिको भनाइमा आधारित समाचार पो भोलिपल्ट छापियो । मालिक त पक्कै छक्क पर्नुभयो होला, म पनि अचम्ममा परेंँ । एक त मेरा मालिक बि्रफकेस बोकेर गएका थिएनन्, म आफैं जाँदै थिएँ । दोस्रो मैले मालिक चिनाइदिएकै थिएँ, उनले नाम लिने हिम्मत गरेनन् । मनमन सोचँें, ‘त्यस्तो डरै लाग्ने भए त्यति जाबो बोक्रे कुरामात्र किन खोतल्नु ? फलाना हाकिमको बि्रफकेस फलानालाई भेट्न जाँदै थियो भनेर किट्नै किन डराउनु ?’
सोचेको मात्र थिएँ, ढोका कसैले ढकढक्यायो । बिस्तारो
खोलेँ । मालिक पो आएछन् ।
‘साराले देख्नेगरी हिँडिस् कि क्या हो तँ ?’ साउतीको स्वरमा उनले मलाई हप्काए ।
‘यति राम्रो बि्रफकेस बाटामा हिँड्दा धेरैले देखिहाल्छन् नि हजुर !’ मैले पनि भनिदिएँ, ‘कोही त हुरुक्कै हुन्छन् ।’
‘थुइया गधा’, उनी रिसाए, ‘डुबाउँछस् क्यारे ।’
गल्ती गरिएछ जस्तो लाग्यो, मैले घोसे मुन्टो लाएँ । मालिक आँखा तर्दै गए ।
भोलिपल्ट अर्को समाचार आयो, ‘बि्रफकेसबारे बोल्ने हाकिमको छानबिन हुने ।’
बि्रफकेस चिन्ने, त्यसबारे भन्ने तर खुलाउन नसक्ने हुतिहारा सुरक्षा हाकिमले गुन्डा नाइकेहरूलाई भटाभट समाते रे भन्ने सुन्दा मलाईचाहिँ पत्यार लागेन । कि उनले बोल्नै हुने थिएन, बोलिसकेपछि आधार-प्रमाण पेस गर्न सक्नुपथ्र्यो । मेरै नाम लिएको भए बरु म परेको बेहोर्थें । मजति पनि हिम्मत रहेनछ, बिचरा उनीसँग । उनलाई बित्थामा धेरैले हाइहाइ भनेका हुन् कि जस्तो लाग्यो । जुनसुकै ठूला मान्छेले ठूला काम गराउन यो देशमा बि्रफकेस बोक्छन् भन्ने कसलाई थाहा छैन र ? नामै नतोकी त्यही कुरो भन्दा उनी कसरी बहादुर भए ?
ललल
मस्त निद्रामा थिएँ, मध्यराति कसैले ढोका ढकढक गर्‍यो । उठेंँ, खोल्ने हिम्मत आएन । मनमा अनेक तर्कना खेले । सहरमा बि्रफकेसको अपहरण बढेको सुनेको थिएँ । आफूलाई पनि त्यस्तै केही होला कि भन्ने डर लाग्यो । अर्को मनमा गुन्डा आयो । ‘गुन्डा तह लाउने’ प्रहरी हाकिम त्यही दिन कारबाहीमा परेका थिए । झन् सातो गयो, कतै गुन्डा आए भने ?
फेरि ढकढक गर्‍यो । मन दह्रो बनाएर सोधेँ, ‘को हो ?’
‘म’ मसिनो स्वरमा मालिक बोलेको चिनिहालें ।
खुसीले गदगद हुँदै ढोका खोलें । हतार-हतार पसेर मालिकले चुकुल लाइहाले । अनि बिस्तारो सोधे, ‘सन्चै छस् ?’
‘म त सन्चै छु’, मैले भनेँ, ‘हजुरलाई पो बिसन्चो भए जस्तो लाग्यो । यति राति कहिल्यै आउनुहुन्नथ्यो ।’
‘त्यस्तो केही होइन’, उनले प्रस्ट्याए, ‘यसो गफ गर्नमात्र आएको ।’
‘ए’, म चुप लागेँ ।
‘बरु बिस्तारो बोल्’, मालिकले मेरा तिघ्रामा चिमोटे, ‘मालिक्नीले सुन्ली फेरि ।’
मैले पुलुक्क हेरेँ, मालिकले आज्ञाकारिता बुझिहाले ।
‘बाटामा हिँड्दा अरू बि्रफकेस पनि देख्छस् ?’ उनले अनौठो प्रश्न सोधे ।
‘देख्छु हजुर’, मैले फिटिक्कै ढाँटिनँ, ‘धेरै देख्छु ।’
‘कस्ता-कस्ता ?’ उनी सुन्न आतुर देखिए ।
‘पहिला मजस्तै मेड इन इन्डिया लेखेका धेरै भेटिन्थे’,
मैले भनें, ‘केही वर्षयता त मेड इन चाइना लेखेका पनि बढिसके हजुर ।’
‘चुप’, उनले कुरा काटे, ‘मोटा, दुब्ला पो सोधेको त । तँलाई मेड इन कसले सोध्यो ?’
‘सरी’, कानको लोतीमा हात पुर्‍याएर मैले जवाफ दिएँ, ‘कुनै दुब्ला, कुनै मोटा, छ्यासमिसै छन् हजुर ।’
‘ए’ उनी गमक्क परे । नेपथ्यमा मालिक्नीको आवाज सुनियो, ‘लौ न केटा हो, साब हराइस्यो !’
‘यता छु’, चिच्याउँदै उनी कुदे ।
अनि म मस्त सुतिदिएँ ! अझै निद्रामै छु । थाहा छैन— मेरा मालिकको बढुवा भयो कि भएन ?(कान्तिपुर दैनिकबाट)

, ,

news and entertainment