दिनेश सिंहको गिरफ्तारीसँगै अपहरण सञ्जाल टुट्यो
मध्य तराईका तीन जिल्ला पर्सा,बारा र रौतहटमा अपहरणको पर्याय बनेका भारतीय अपराधी दिनेश सिंहको पक्राउसँगै अपहरणको संजाल भत्काउन नेपाल प्रहरीले ठूलो सफलता पाएको छ।
नेपालमा अपहरणका लागि लगानी गर्ने र अपहरितलाई भारतमा आफ्नो संरक्षणमा राखेर फिरौती असुल्ने धन्दामा एक दशकदेखि सकृय रहेका बिहार राज्यको मोतिहारी जिल्ला लखौरा थाना भेलवा बजारका दिनेश सिंहलाई प्रहरीले जेठ अन्तिम सातामा पक्राउ गरेपछि ठूलो नेटवर्क भत्किएको हो।
भक्तपुरको सूर्यविनायकबाट अपहरित अढाइ वर्षीय बालक बिट्टु चौधरीको उद्धार गर्ने क्रममा नेपाल प्रहरीका लागि मोस्ट वाण्टेड रहेका दिनेश सिंहलाई पक्राउ गर्न सफलता पाएको हो। बिट्टुको फिरौती रकम लिन उनका पिता राजेश चौधरीसँग भेट्ने बहानामा भारतीय सीमासँग जोडिएको बाराको मटिअर्वामा बोलाएर जिल्ला प्रहरी कार्यालय बारा र नारायणी अञ्चल प्रहरी कार्यालयबाट संयुक्तरुपमा खटिएको टोलीले दिनेशलाई नियन्त्रणमा लिएको थियो।
दिनशको पक्राउसँगै पर्सा, बारा र रौतहटमा भएका अपहरणको घटनामा पछिल्लो पाँचवर्षयता सकृय रहेको अपहरणकारीको सञ्जाल भत्किएको बरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालको दाबी छ। उनी भन्छन्, 'आगामी केही वर्षसम्म यो क्षेत्रमा अपहरणको धन्दामा संगठित समूह सकृय पाउने छैनन्।' बारा प्रहरीको हिरासतमा रहेका दिनेश सिंहले स्वयं पनि आफ्नो पक्राउसँगै सीमा क्षेत्रका अपराधीको साँठगाँठमा सञ्चालन हुँदै आएको अपहरण उद्योग केही वर्षका लागी बन्द हुने बताएका छन्।
दिनेश सिंहको सकृयतामा भक्तपुरका बालक बिट्टु चौधरी अपहरणमा पर्नु अघि पर्साबाट एकजना, बाराबाट एकजना र रौतहटबाट दुईजना अपहरणमा परेका थिए। दिनेशको समूहले बिट्टुको अपहरणमा सफलता पाएलगत्तै पर्सा र बाराबाट दशैं अगावै थप चारजनाको अपहरण गर्ने योजना समेत बुनेको स्रोतको भनाइ छ। 'बिट्टुको अपहरणबाट हुने कमाइ खर्चेर बारा र पर्साका ठूला निर्माण व्यवसायीलाई अपहरण गर्ने योजना समेत बनाएका रहेछन्,' बाराका प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीले भने, 'दिनेश सिंह पक्राउ नपरेको अवस्थामा यहाँ अवस्था भयावह हुनसक्थ्यो।'
प्रारम्भमा मोटरसाइकल लुटपाटबाट अपराधको दुनियाँमा प्रवेश गरेका दिनेश सिंह २००६ देखि बिहार प्रहरीको नोटिसमा आएका हुन्। अपहरण तथा अवैध हातहतियार कारोबारमा सन् २००८ मा जेल परेका दिनेश केही समयको काराबासपछि धरौटीमा रिहा भएलगत्तै पुनः पुरानै धन्दामा सकृय भए। बाराको सीमावर्ती घोडासहन पुलिस थानाका इन्चार्ज (हवल्दार) ललित कुमारका अनुसार बिहारमै अपराध गर्दा पुलिसले पक्राउ गर्ने भएपछि सन् २०१० देखि झारखण्डमा आश्रय लिएर दिनेशले नेपालमा अपहरण र फिरौती असुलीको सञ्जाल बिस्तार गरेका हुन्।
२०६९ साल असोज २१ अपहरित १९ निवासी २१ वर्षिय यूवक राजु प्रजापतिको उद्धारका क्रममा अनुसन्धान थाल्दा अपहरण धन्दाको सुत्र मोतियारी(बिहार)का दिनेश सिंहसँग जोडिएको प्रमाण फेला परेपछि नेपाल प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास थालेको हो। अपहरणमा संलग्नता पुष्टी गर्ने कल डिटेल रिपोर्ट (सिडिआर) सहित पर्सा प्रहरीले मोतियारी पुलिससँग दिनेश सिंहको सुपुर्दगीका लागी आग्रह गरेपनि “भारतीय नागरिक” भएकाले सुपुर्द गर्न असमर्थता जाहेर गर्दै आएका थिए।
दिनेशकै संलग्नतामा १० भदौ २०६९ मा रौतहटको समनपुर ९ हथियौल टोलका अच्छेलाल बैठाका १४ वर्षिय छोरा सुुनिल बैठा र १७ चैत २०६९ मा मत्सरी ८ का फेकु बनियाँका १८ वर्षिय छोरा भुलौना भनिने रामचन्द्र साहको अपहरण भएको नारायणी अञ्चल प्रहरी कार्यालय वीरगन्जले जानकारी दिएको छ । तीनैजनामध्ये १६ लाख रुपैयाँ फिरौती लिएर दिनेशले रामचन्द्रलाई मुक्त गरेपनि रौतहटका सुनिल बैठा र वीरगन्जका राजु प्रजापतिको अवस्था अझै अज्ञात छ । राजु प्रजापतिका अभिभावकले दिनेश सिंहलाई दश लाख रुपैयाँ फिरौती बुझाए पनि उनलाई मुक्त गरिएको छैन । लामो समयबारे राजुबारे जुन जानकारी नआएकाले उनको हत्या भएको हुनसक्ने आशंका गरिए पनि पुष्टि हुन सकेको छैन।
