गोल्डेन बुटको प्रतिस्पर्धा
रियो दि जेनेरियो ढएपी), असार १३ - विश्वकपको गोल्डेन बुटको प्रतिस्पर्धामा बार्सिलोनाका खेलाडीबीच प्रतिस्पर्धा हुने देखिएको छ । लियोनल मेसीले बुधबार नाइजेरियाविरुद्ध ३-२ ले जित हासिल गरेको खेलमा २ गोल गरेसँगै यस्तो प्रतिस्पर्धा देखिएको हो । ब्राजिलमा नेयमर र मेसीको गोल संख्या समान ४ पुगेको छ । यी दुवै खेलाडी बार्सिलोनामा सँगै फुटबल खेल्छन् । जेरडान साकिरी पनि गोल्डेन बुटको दाबेदारका रूपमा प्रस्तुत भएका छन् । उनले समूह 'एफ' को बुधबार भएको खेलमा होन्डुरसविरुद्ध ह्याटि्रक गरेका थिए ।
फ्रान्सका करिम बेन्जेमा र इनर भ्यालेन्सियाले पनि समान ३ गोल गरेका छन् । दुवै खेलाडीले १० खेलाडीमा सीमित इक्वेडरमाथि गोल गर्न सकेनन् । सम्भावना बोकेका एक खेलाडी भने गोल्डेन बुटको दाबेदारबाट बाहिरिएका छन् । लुइस सुआरेजलाई फिफाको अनुशासन कमिटीले प्रतिबन्ध लगाएको छ । उनले इटालीका डिफेन्डरलाई टोकेका थिए । उरुग्वेले अन्तिम १६ मा शनिबार कोलम्बियाको सामना गर्दा उनी टिममा रहने छैनन् ।
मेसीले नाइजेरियाविरुद्ध तेस्रो मिनेटमा गोल गरेका थिए भने अर्को गोल पहिलो हाफको इन्ज्युरी टाइममा फ्रिकिकमार्फत गरेका थिए । 'मेसी निकै राम्रो खेलाडी हुन् । उनीमा क्षमता छ र हामीले उनीबाट केही पनि टाढा लान सक्दैनौं,' नाइजेरियाका प्रशिक्षक स्टेफन केसीले भने,'उनी जुपिटर हुन्, अरूभन्दा फरक छन् ।' २२ वर्षीय नेयमरले घरमै विश्वकप खेल्नुको दबाबलाई कम गरिरहेका छन् । 'जे गर्न चाहन्थें, म त्यही गरिरहेको छु,' नेयमरले भने,'आज मेरो सपना सत्य हुँदै आइरहेको छ । म त्यो खेल खेल्दैछु, जुन म सधैं खेल्न चाहन्थें ।'
पोर्तो अलेग्रेमा अहमद मुसाले मेसीले गोल गरेसँगै दुवै बराबरी गोल गरे । जर्मनका थोमस मुलरको दुई खेलमा तीन गोल भएको छ । उनले पोर्चुगलविरुद्ध पहिलो खेलमा तीन गोल गरेका थिए । उनले विश्वकपमा पहिलो ह्याटि्रक गरेका हुन् । तर उनले घानाविरुद्धको खेलमा भने गोल गर्न सकेनन् । उनको अनुहारमा चोटका कारण टाँका लगाइएको छ । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा उनले गोल्डेन बुट जितेका थिए । उनले त्यसबेला ५ गोल र तीन गोलका लागि अवसर सिर्जना गरिदिएका थिए ।

